कञ्चनपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको मत जित्न सके मत आफै प्राप्त हुने बताएका छन ।
‘घरघर जाऔं, काँग्रेस जिताऔं’अभियानका लागि कञ्चनपुर आइपुगेका उनले नेपाल प्रेस युनियनले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन ।
महरले जनताको मन जित्न सके मात्रै नेपालमा लोकतन्त्र सुरक्षित हुने भएकाले कांग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा रहेको समेत बताए ।

स्थानीय तहको निर्वाचन लक्षित पार्टीको एक महिने अभियानको सिलसिलामा आएका उनले जनताको हकहितका लागी काँग्रेस सरकाको नारा कार्यान्वयन गर्नतर्फ लाग्नु आजको प्रमुख आवश्कता रहेको बताए ।

‘हामी प्रत्येक वडामा पुगेर जनतालाई काँग्रेसले गरेका सकारात्मक कर्मका बारेमा जानकारी गराउने छौं । हामी धेरै बोल्दैनौँ । भ्रमको खेति पनि गर्दैनौं’ उनले भने ‘काँग्रेस देशको जिम्मेवार पार्टी हो । त्यसैले जिम्मेवारी पूर्ण ढंगले अगाडि बढ्नुपर्छ । हाम्रा काम, कर्म र अभिव्यक्ति पनि जिम्मेवार हुनुपर्छ ।’
एमालेले गणतन्त्रको बाटो अंगालेर लोकतन्त्रको बाटो भुलेको महरको आरोप छ । त्यस्तै अन्य राजनीतिक दलहरूको अस्थिरतालाई पनि जनताले देखेकाले काँग्रेस नै विश्वासिलो पार्टी भएको उनले दाबी गरे ।
जनताले दुई तिहाइका साथ विजयी गराए काँग्रेसलाई आफ्नो अभिभारा पुरा गर्न सहज हुने महरको भनाइ छ । ‘हामी मजदुरको घरमा पुग्नेछौँ । बुद्धिजीवीका बिचार सुन्ने छौं । जनताका अपेक्षा सुन्ने छौं । काँग्रेसका योजना सुनाउने छौं । अब हामी जनतासँग हुनेछौं’ उनले भने ।
राजनीति जनताका लागि गरिने भएकाले काँग्रेस जनताको घरदैलोमा पुग्न चाहेको महरको भनाइ छ । घरघर जाऔं, काँग्रेस जिताऔँ अभियान अन्तर्गत केन्द्रीय नेताहरू ७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा पुग्ने भएका छन् ।




















