खाेज्नुहाेस

जो भाइस प्रिन्सिपलबाट किसान बने

Image

अत्तरिया – २ बर्ष अगाडी ईश्वर कुमार थापाको हातमा बुक, चक, डस्टर र गोजीमा कलम हुन्थ्यो । उनको काम विद्यार्थीलाई पढाउने थियो । तर, अहिले थापाको दैनिकी परिवर्तन भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ बंकका थापा अहिले कुटो, कोदालो समातेर खेतमा जान्छन र, फर्ममा तरकारी, फलफुल, बाख्रा, बंगुर हुर्काउनमा खटिन्छन ।

स्थानीय डाइमण्ड इङलिस बोर्डिक स्कुलमा भाइस प्रिन्सीपलका रुपमा कार्यरत ईश्वरको महिनाको कमाई १५ हजार थियो । ६ बर्ष शिक्षण पेशा गर्दा पनि घर खर्च चलाउनै धौ–धौ हुन थालेपछि उनी बैकल्पिक आयआर्जतको श्रोत खोज्दै कृषिमा प्रवेश गरेका हुन ।

attariya hospital

‘म २ बर्ष अगाडी शिक्षण पेशामा आवद्ध थिए । निजी विद्यालयमा पढाउँदा खान लगाउन मात्रै पुग्ने बचत नहुने । दुःख अलि बढी गर्नु पर्ने । एउटै पेसाले जिवन धान्न नसकिने देखेपछि मैले अर्को पेसा पनि गर्नुपर्ने देखे’ उनले भने ‘त्यसपछि मैले २/२ पटक विदेशमा धोका खाइसकेका दाइ र भाइलाई कृषि गर्ने योजना सुनाए । वहाँहरु तयार भएपछि कृषिमा लागेको हु ।’

अहिले ईश्वर संगै उनका दाई (ठूलो बुवाका छोरा) अम्मर राज थापा र भाइ प्रभु राज थापाले साझेदारीमा टिप्स अर्गानिक तथा पशुपन्छि फर्म संचालनमा ल्याएका छन । उनीहरुले फर्ममा हाल तरकारी, फलफुल र पशु, पालन गरिरहेका छन ।

फर्मका योजनाकार ईश्वरले ७ विघा जग्गामा कृषि फार्म संचालनमा ल्याएको बताए । जसको भाडा बार्षिक २ लाख ८० हजार पर्ने उनले बताए ।

‘केरा २ बिघा, तरकारी ३ बिघा कागती २ विघामा लगाएको छु । अझै ३ विघामा केरा र १ विघामा तरकारी लगाउनको लागि जग्गा खोजिसकेको छु । २१ वटा बाख्रा छ, बंगुर पनि पालन गरेका छौ’ उनले भने ‘फर्मको नाम अनुसार यसलाई साकार दिनका लागि हामीले पन्छि पाल्न बाँकी छ । अहिले हामीले यसका लागि योजना बनाइरहेका छौ ।’ उनले फर्ममा हाल सम्म ६८ लाख लगानी लागिसकेको बताए ।

‘व्यवसाय सुरु गर्दा कोरोना पनि सुरु भएकाले सुरुमा केही समस्या भएको थियो । उत्पादन बारीमै थन्किने अवस्था आएको थियो’ उनले भने ‘हामीले पछिको भबिष्य हेरेर यसलाई निरन्तरदा दिएका थियौ । विदेशमा जुन खालको पीडा छ त्यो पीडा भोग्नु परेन । नोक्सान भएपनि आफ्नै देशमा कर्म गरेर खाइरहेका छौ । अहिले बजार सहज भएको छ ।’

उनले फर्ममा राज्यबाट पनि केही सहयोग पाएको बताए । ‘सरकारले हामीलाई केही राहत त गरेको छ । कृषि ज्ञान केन्द्रले केही टनेल सहयोग गरेको छ । केही विउविजनमा पनि अनुदान पाएका छौ’ उनले भने ‘अझै केही लगानी लगाउनु पर्ने देखिएकाले हामीले केही अनुदान र ऋणका लागि अपिल गरिरहेका छौ ।’

navjiwan hospital

कृषिमा थुप्रै सम्भावना

इश्वरले नेपालमा कृषिको थुप्रै सम्भावना भएको बताए । उनले विदेशमा गएका युवाहरुलाई पनि आफूले स्वदेशमा आएर कृषि कार्यमा लाग्न आग्रह गर्ने गरेको बताए ।

‘बजारमा अहिले हाम्रो उत्पादन न्युन छ । त्यसैले म अहिले विदेशमा रहेका युवाहरुलाई सबैभन्दा बढी सम्भावना कृषिमै छ । कृषिबाट नै देश सम्मुनत हुने छ । र, हाम्रो व्यक्तिगत आयआर्जनका श्रोत पनि कृषि बन्ने छ भनेर बुझाउने गरेको छु’ उनले भने ‘आगामी दिनमा हामी सबै मिलेर कृषि कार्य गर्यौ भने आफ्ना् र देशको विकास हुन्छ । साथै हामीले बाह्यबाट हुने आयातलाई पनि रोक्न सक्छौ ।’

उनले सरकारले कृषिका लागि राम्रो योजना बनाउन सके कृषिमा राम्रो सम्भावना रहेको बताए ।

नामको कृषि प्रधान देश हुँदा समस्या

नेपाललाई कृषि प्रधान देश भनिएपनि त्यस अनुसारको योजना र पुर्वाधारको विकास हुन नसकेको इश्वरको गुनासो छ । ‘हाम्रो मुख्य समस्या भनेको के छ भने हाम्रो देशलाई कृषि प्रधान देश भनिएको छ । बिना अध्ययन कृषि प्रधान देश र कृषिबाट मात्रै फाइदा हुन्छ भन्ने कुरा गरिएका छन । जुन अफवाह जस्तै लाग्छ’ उनले भने ‘कृषि सम्भाव्य क्षेत्र हो भने यसका लागि सरकारसंग यसको लागि ठूलो योजना हुनुपर्छ ।’

उनले ठूला कुरा गरे पछि किसानले सधै सिचाइ र मलखादको समस्या भोग्दै आएको बताए । ‘मलको सधै समस्या हुने गरेको छ । मल बिना उत्पादन नै हुदैन । तर, हामीले जुन समयमा मल चाहिने हो त्यो समयमा मल नै पाउँदैनौ । सबैभन्दा ठूलो दुःखको कुरा यो छ । कृषिमा धेरै चुनौति छन’ उनले भने ‘कृषिमा धेरै सम्भावना भएपनि सरकारले बनाएका योजना पनि फेल भइरहेका छन ।’

उनले उत्पादन भएको सामानको मुल्य निर्धारण नहुँदा किसान सधै मारमा पर्ने गरेको बताए ।

‘सिजनको समयमा नाकाबाट जुन खालको आयात भइरहेको हुन्छ । त्यो आयातलाई रोक्नुपर्ने हुन्छ । आयात बढी हुँदा बजारमा छ्यापछ्याप्ती तरकारी हुन्छ । तर, स्वदेशको बस्तु बजारमा पुग्न पाउँदैन’ उनले भने ‘सिजनमा हाम्रो उत्पादन कैडीको भाउमा जान्छ । अफ सिजनमा उत्पादन गर्नका लागि हामीसंग प्रबिधि पनि छैन ।’

उनले प्रबिधिको अभाव, गुणस्तरीय बिउबिजनको अभाव, सिचाइ, मलको अभाव, मुल्य निधारण नहुनु, जस्ता समस्याले किसान एकदमै मार्कामा परेको बताए ।