खाेज्नुहाेस

कञ्चनपुरका डिग्री होल्डर हरेन्द्र, जो कृषिबाट गाउँमै कमाउन्छन मासिक लाख

Image

अत्तरिया – नेपालमा कृषिमा भविष्य खोज्ने युवाको संख्या बढ्दो क्रममा छ । विदेश जाने लहर नरोकिएको भएपनि पछिल्लो समय नेपालमै व्यवसायिक कृषि गर्न युवाहरुको आकर्षण बढिरहेको देखिन्छ । विदेशबाट आएका र अन्य पेशा व्यवसायमा लागेका युवा पनि कृषिमा आकर्षित हुन थालेका छन ।

नेपाललाई कृषि प्रधान देश भएपनि अपेक्षित रुपमा अझै पनि यसमा शिक्षित युवाको संग्लनता भने न्यून छ । यही पृष्ठभूमिका बिच शंकरदेव क्याम्पस काठमाडौंबाट एमबिएस (मास्टर डिग्री) गरेका कञ्चनपुरका हरेन्द्र बोहराले भने परम्परागत कृषिलाई आधुनिकता तर्फ डो¥याउँदै कृषिलाई आफ्नो मुख्य पेशा बनाएर सफलताको पथमा अग्रसर छन ।

attariya hospital

२०७० सालमा डिग्री गरेका कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३३ वर्षीय हरेन्द्रले कृषि अनुभव लिनका लागि सुरुमा आफ्ना बुवाले परम्परागत रुपमा सुरु गरेको कृषि व्यवसायमा लागेका थिए ।

२०७१ सालमा बुवाले सुरु गरको परम्परागत गाई पालन व्यवसाय र केरा खेतीमा लागेका उनले घर परिवार र छरछिमेकबाट निकै आलोचना पनि खेपे ।

‘घरमै काठमाण्डौंमा डिग्री पढाएको छोरो घरमा आएर गाई गोठमा काम गर्न थाल्यो भन्न थाले । छिमेकीले पनि कुरा काटे’ उनले भने ‘तर, पनि म कृषिमा लाग्ने सोचबाट बिचलित भएन ।’ उनले १ बर्ष जति परम्परागत रुपमा गाई र केरा खेतीबाट लगानी अनुसारको नाफा नहुन थालेपछि बैंकबाट ऋण लिएर आधुनिक कृषि फार्म सुरु गरेको बताए ।

‘व्यवसायिक कृषि व्यवसाय संचालनका लागि सुरुमा २० लाख कृषि ऋण लिए’ उनले भने ‘सो पैसाले सुरुमा ५ हजार लेयर्स कुखुरा पालन गरे । ६ महिना पछि त्यसबाट राम्रै आन्दानी हुन थालेपछि कुखुरा संगै केरा खेती, बंगुर पालन गरे ।’

उनले कुखुरा पालनबाट बार्षीक १५ लाखको कारोबार हुने गरेको बताए । उनले पहिलो लटमा हालेको कुखुराले अण्डा दिने दर घटेपनि अहिले पनि दैनिक ३ हजार ५ सय देखि ४ हजार अण्डा उत्पादन हुने गरेको बताए । उनले कुखुराका लागि आफैले दाना पनि उत्पादन गर्ने मेसिन जडान गरेका छन ।

‘आफैले दाना उत्पादन गर्दा प्रतिकिलो ५ देखि ७ रुपैयाँ सस्तो पर्न जान्छ’ उनले भने ‘दाना उत्पादनका लागि साढे ६ लाखमा मेसिन खरिद गरेको छु । दानाका लागि आवश्यक कच्चा पदार्थ किनेर दाना उत्पादन गर्छु ।’

उनले कुखुराले दैनिक ६ देखि ७ क्विन्टल दाना खाने गरेको बताए । ४ बिघा निजी र १० बिघा जग्गा भाडामा लिएका हरेन्द्रले ५ बिघा जग्गामा केरा खेती लगाएका छन ।

navjiwan hospital

उनले केरा खेतिका लागि प्रतिबिघा साढे ३ लाख खर्च लागेको बताए । उनले केराबाट मात्रै बार्षीक ९ लाख जति आम्दानी हुने गरेको बताए । केरा पकाउनका लागि उनले यसैबर्ष १ कोठे मिनी कोल्ड स्टोर जडान गरेका छन । पशुपंक्षी तथा मस्य विकास निर्देशनालय डोटीको अनुदानमा मिनी कोल्ड स्टोर जडान गरेका उनले त्यसैमा केरा पनि पकाउन मिल्ने बताए ।

१५ बंगुर पालन गरेका उनले माछा पालन संगै बंगुर र बाख्रा पालनको योजना रहेको बताए । उनका अनुसार २० लाखबाट सुरु गरेको उनको फोर फक्स क्याटल एण्ड ह्याचरीमा हाल १ करोड २५ लाखको लगानी लागिसकेको छ ।

जसका लागि उनले १ करोड रुपैयाँ कृषि विकास बैंकबाट ऋण लिएको बताए । उनले सबै कृषि व्यवसायबाट बार्षीक डेढ करोडको कारोबार हुने गरेको बताए । डिग्री गरेपछि बोहराले ६ महिना हिमाल हाइड्रो पावर र गोल्छा अर्गनाइजेसनमा काम गरेको अनुभव सुनाए । उक्त काममा मासिक ३० हजार आम्दानी गर्ने हरेन्द्रले अहिले भने मासिक औषत ९० हजार देखि १ लाख कमाउने गरेको बताए । व्यवसायमा उनकी श्रीमती संगै आमाले पनि सहयोग गर्ने गरेका छन भने एक जनालाई उनले पुर्णकालिन रोजगारी दिएका छन ।

उनले अन्य धेरै जनाले काम पाएका भएपनि ज्यालादारीमा पैसा दिने गरेको बताए । उनले देशको राजनितिक परिस्थितिका कारण किसानहरुले कृषि पेशालाई व्यवसायीक रुपमा लैजान संघर्ष गरिरहनुपरेको बताए । कृषि क्षेत्रमा राज्यको नीति बलियो नभएकाले कृषि कर्म गरेको मान्छेले नै राज्यको माथिल्लो तहमा पुगे कृषकहरुलाई सहज हुने उनको भनाई छ ।

उनले कृषकहरुका समस्याका बारेमा बोल्न र उनीहरुको समस्यालाई समाधान गर्नका लागी आफुले पनि स्थानिय तहको निर्वाचनमा होमिने सोच बनाएको बताए ।

‘आइडल’ किसान

काठमाण्डौंबाट डिग्री गरेर अहिले गाउँमै धुलोमाटो संग रमाइरहेका हरेन्द्र गाउँका युवाका लागि आइडल किसान बनेका छन । हरेन्द्रले आफूले कृषि व्यवसाय सुरु गर्दा गाउँमा एक जना पनि उच्च शिक्षा हासिल गरेका युवा कृषिमा नलागेको भएपनि पछिल्लो समय शिक्षित युवा कृषिमा लाग्ने क्रम बढ्दै गएको बताए ।

उनले पहिले कुरा काट्नेले पनि अहिले आफ्नो कामको सम्मान गर्ने गरेको बताए । ‘म अन्य धेरै पेसा व्यवसाय गर्न सक्ने थिए । तर, मैले कृषिलाई रोजे’ उनले भने ‘अहिले मैले गरेको कामले धेरै युवालाई कृषिमा लाग्न प्रेरणा दिएको छ ।’