खाेज्नुहाेस

कृष्णपुरमा निर्माणाधिन इको पार्कको काम रोकियो

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ बाणिमा निर्माणाधिन इको पार्क निर्माणको काम रोकिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पुर्वाधार तथा उपज विकास साझेदारी कार्यक्रम अन्र्तगत कृष्णपुर नगरपालिकाले गडबिजुला सामुदायिक वनमा निर्माण गरिरहेको पार्कमा प्रक्रिया नपुगेको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले निर्माणको काम रोकेको हो ।

सामुदायिक वनका अध्यक्ष अक्कल बोहराले वनमा भइरहेको काम रोक्न डिभिजन वन कार्यालयबाट पत्र प्राप्त भएको बताए । उनका अनुसार डिभिजन वनले समुदायिक वनलाई पठाएको पत्रमा तुरुन्त वन भित्रको काम रोकी ३ दिन भित्र सत्यतथ्य विवरण बुझाउन भनिएको छ । वडा अध्यक्ष जयनारायण जोशीले मन्त्रालयबाट निर्णय भएर बजेट विनियोजन भएपनि काम रोकिएको बताए । ‘नगरपालिकाले सामुदायिक वनकै मातहतमा रहने गरी इको पार्कको निर्माण गर्न लागिएको हो’ उनले भने ‘यसरी सबै प्रक्रिया पु¥याएर पनि रोकिनु गलत हो ।’ उनले डिपिआर, इआइए गरेर टेण्डर प्रक्रियामा गएर काम सुरु गरिएको बताए ।

attariya hospital

उक्त वनमा पार्क निर्माणका लागि ४ महिना अगाडी नै उद्घाटन गरी काम सुरु गरिएको थियो । तर, ४ महिना पछि पहिलो चरणको २५ प्रतिशत काम सकिएपछि वनले रोक लगाएको वडा अध्यक्ष जोशीले बताए । उता वन क्षेत्रमा निर्माण भइरहेको पार्कको बारेमा कुनै जानकारी नदिइएकाले काम रोकिएको डिभिजन वन कार्यालयका प्रमुख सम्भु प्रशाद तिवारीले बताएका छन ।

navjiwan hospital

‘त्यसमा अलिकती प्रक्रिया नमिलेको रहेछ । प्रक्रिया नमिलेका कारण हामीले रोकेका हौ’ उनले भने ‘वनमा इको पार्क निर्माण भइरहेको बारेमा हामीलाई न नगरबाट जानकारी आयो, न सामुदायिक वनबाट जानकारी आयो, न प्रदेशबाट जानकारी आयो, न मन्त्रालयबाट आयो । त्यै भएर हामीले के हो भनेर ३ दिन भित्र कागजात दिने गरी काम रोकेका छौ ।’

उनले कागजात पु¥याएमा काम पुनः सूचारु गर्न दिइने बताए । वन ऐन २०७६ को दफा ४२ अनुसार नेपाल सरकारको स्वीकृति लिएर मात्र भौतिक संरचना लगायत अन्य निर्माण कार्य गर्न पाउने कानूनी व्यवस्था भएकाले ति प्रक्रिया पुरा गरेको जानकारी नआएकाले काम रोकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव सिह भण्डारीले इको पार्कका लागि नगर स्तरमा सबै प्रक्रिया पुरा गरिएको बताए । उनले प्रक्रिया पु-याएको भएपनि संघ सरकारका कार्यालयमा कुनै जानकारी दिन बाँकी भए त्यसका लागि प्रक्रिया अगाडी बढाइने बताए ।
१२ करोड ४२ लाख ६५ हजार १ सय ९३ रुपैयाँ लागत स्टमेट गरिएको उक्त पार्कमा पहिलो चरणमा मन्त्रालय मार्फत २ करोड ४० लाख र नगरपालिका मार्फत १ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

टेण्डर प्रक्रियामा जादा जोशी अमृत जेभीले भ्याट सहित २ करोड ३२ लाख ४३ हजार ९ सय ७ रुपैयाँमा निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । उक्त काम सम्पन्न गर्नका लागि २०७९ फागुन मसान्त सम्मको म्याद तोकिएको छ । जस अन्तरगत पर्खाल, शौचालय र गार्ड घर निर्माण गरिदै छ । इको पार्कको मंसिर १ गते नगरप्रमुख कर्ण बहादुर हमालले शिलान्यास गरेका थिए ।

डिपिआर अनुसार सामुदायीक वनको ३८८११.५२ स्क्वायर मिटर क्षेत्रफल छुट्याइएको उक्त पार्कका लागि बाउन्ड्री वाल, अफिस तथा गार्ड घर, शौचालय तथा चेन्जिङ रुम, शिव मन्दिर, ढुङ्गे धारा सहितको स्विमिङ पुल, बालबालिका खेल पार्क, झरना सहितको स्टिल पुल, ल्याण्डस्केप पानीको फोहोरा लगायतका संरचना निर्माण गरिने जनाइएको छ ।