खाेज्नुहाेस

डोटीको सायलमा साढे ७ करोडको लागतमा प्रशासकीय भवन बन्दै 

Image

अत्तरिया – डोटीको सायल गाउँपालिकाले साढे ७ करोड बढी लगानीमा प्रशासकीय भवन निर्माण गरिरहेको छ । गाउँपालिकाले ७ करोड ५९ लाख ५९ हजार ९०४ रुपैयाँको लागतमा वडा नम्बर ५ को दुदिलेगडामा ४ तले सुबिधा सम्पन्न भवन निर्माण गर्न लागेको हो ।

स्थानीय स्तरको प्रशासकिय पुर्वाधार विकास कार्यक्रमको ६० प्रतिशत लगानी र ४० प्रतिशत गाउँपालिकाको लगानीमा भवन निर्माण गर्न लगिएको गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रममा आयोजनाको निर्माण, भेरिएशन स्वीकृति, अनुगमन, सुपरीवेक्षण, गुणस्तर नियन्त्रण, नापी प्रमाणित र म्याद थप लगायतका कार्य भने स्थानीय तहले नै गर्न पाउने प्रावधान रहेको छ ।

attariya hospital

भवनको हाल ८० प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटाले बताए । उनले भवन निर्माण भएपछि प्रशासनिक काम संचालन गर्न सहज हुने बताए ।

‘अहिलेको भवनमा निकै समस्या छ । स्टाफहरुलाई बस्ने कोठाकै अभाव छ । पालिकाका जिन्सिका सामान राख्नको लागि पनि समस्या छ । सेवा प्रदान गर्न निकै समस्या छ’ उनले भने ‘भवन निर्माण भएमा सबै शाखाको छुट्टाछुटै कोठा निर्माण गर्न सकिन्थ्यो ।’

navjiwan hospital

उनले अहिले भवन अभावका कारण प्राबिधिक फाट नै संचालन गर्न नसकिएको बताए । हालको केन्द्र भने वडा नम्बर ४ मा भाडाको भवनमा रहेको छ । भवन निर्माणका लागि रोयल प्रसंसा जेभी संग २०७७ असार २६ गते ठेक्का सम्झौता भएको थियो । भवन निर्माणको म्याद २०७९ असार २० गते सम्म तोकिएको छ ।

रोयल प्रसंसा जेभीका प्रतिनिधि ओम पाठकले भवन निर्माणको काम दु्रुत गतिमा अगाडी बढेको भएपनि बाटोको समस्याका कारण ढुवानीमा समस्या भइरहेको बताए । उनले बर्षाले कच्ची सडक भत्किएपछि निर्माण सामाग्री ढुवानीमा समस्या भएको बताए । ‘सडकको वाल भत्किएपछि सामान ढुवानी गर्न समस्या भयो’ उनले भने ‘अहिले पनि सो सडकमा टिप्पर चलाउन सक्ने अवस्था छैन । पटक पटक बाटो बिग्रने गरेका कारण समस्या भएको छ ।’

उनले गाउँपालिकाले बाटो मर्मत गरिदिए अझै पनि तोकिएको समय भित्रमै भवन निर्माण सक्ने दाबी गरे । उनले स्टक्चर निर्माणको काम सकिएकाले अब प्लास्टर र रंगरोपनको काम मात्रै बाँकी रहेको बताए ।

६ वटा वडा रहेको सायल गाउँपालिकाका ४ वडा कार्यालयले पनि आफ्नै भवन निर्माण गरिसकेका छन भने २ वडाका भवन भने निर्माणको प्रक्रियामा रहेका छन ।