अत्तरिया – कोरोनाका कारण २०७६ र २०७७ सालमा रोकिएको सुदूरपश्चिम प्रदेशिक महोत्सव २०७८ मा संचालन गर्न दोस्रो पटक मिति तोकिएको छ ।
कोरोनाकै कारण यस बर्ष पहिलो पटक तोकिएको मितिमा महोत्सव संचालन हुन नसकेपछि अत्तरिया उद्योग बाणिज्य संघले पुनः दोस्रो पटक महोत्सवको मिति तोकिएको हो । जसअनुसार अब फागुन १३ देखि २५ सम्म अत्तरियामा महोत्सव आयोजना हुनेछ ।

यसअघि पुस २७ देखि माघ ९ गते सम्म महोत्सव आयोजना गर्नका लागि संघले पुस ८ गते महोत्सवको मिति घोषणा गरेको थियो ।
यस पटक भने करिब एक साता अगाडी मात्रै महोत्सवको मिति घोषणा गरिएको छ । बिहिबार अत्तरिया उद्योग बाणिज्य संघको कार्यसमिति बैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको संघका महासचिव यज्ञ राज जोशीले बताएका छन । उनले महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना गरिने बताए ।

यसअघि घोषणा गरिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेपछि स्थागित गरिएको थियो । महोत्सवका लागि मञ्च समेत तयार गरिएको भएपनि कोरोना महामारीका कारण महोत्सव स्थगित गरिएपछि सबै अस्थाई संरचना हटाइएका थिए ।
कोरोना संक्रमणदर र जोखिम घट्दै गएकाले महोत्सवको आयोजना गर्न लागिएको आयोजनक उद्योग बाणिज्य संघले जनाएको छ ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले यसअघि कोरोनाका कारण स्थगित भएका महोत्सव संचालनको तयारी थालिएकाले सुदूरपश्चिम प्रदेशिक महोत्सव पनि आयोजना गर्न लागिएको बताए ।
‘हामी संगै पुर्वतिरका धेरै महोत्सव स्थगित भएका थिए । अहिले ति महोत्सव संचालनको तयारी गरिदै छ’ उनले भने ‘हामीले पनि धेरै समय नराखिकन पछि मौसम पनि प्रतिकुल हुने भएकाले महोत्सवको तयारी गरेका हौ ।’ उनले महोत्सव संचालनका लागि सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय संग पनि समन्वय भइसकेको बताए ।
उनले महोत्सव तयारीका लागि छोटो समय भएकाले दु्रत गतिमा काम अगाडी बढाउने बताए । उनले महोत्सवमा पहिलेको तुलनामा स्टलको संख्या घट्न सक्ने बताए ।
‘कलाकारको टुङ्गो पहिले नै लगएका थियौ । वहाहरुलाई नै यसपटक पनि बोलाउने योजना बनाएका छौ’ उनले भने ‘महोत्सवको उद्घाटनका लागि पनि माननिय पर्यटन मन्त्री आले ज्यु संग कुरा राखिसकेका छौ । टुङ्गो लाग्न बाँकी छ ।’ महोत्सवमा रमाईलो मेला संचालनका लागि पनि कुरा भईसकेको उनले बताए । महोत्सवका लागि शुक्रबार देखि नै महोत्सव स्थलमा आवश्यक संरचना निर्माणका काम थालिने जनाइएको छ ।
१३ दिन सम्म संचालन गरिने महोत्वसको बिचमा २ शनिबार संगै शिवरात्री, ग्याल्यो ल्होछार र नारी दिवसको विदा परेको छ । विदाका दिन बढी मानिस आउने भएकाले त्यसको फाईदा महोत्सवलाई पुग्ने अपेक्षा लिइएको छ ।




















