खाेज्नुहाेस

गोदावरी नगरपालिकाले लाखौं खर्चेर हेरालु राख्दा पनि छाडा गाइगोरु खेतमै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले बार्षिक लाखौं रकम खर्चेर हेरालु राखेको भएपनि छाडागाईगोरु भने खेतमै किसानका बाली खाने गरेका छन । किसानका खेतबारी बचाउन नगरपालिकाले १० जना हेरालु राखेको छ । तर, छाडा गाईगोरुले बालि खाने समस्या भने हट्न सकेको छैन ।

वडा नम्बर १ देखि ५ सम्ममा प्रतिवडा २ जनाका दरले नगरपालिकाले छाडा गाईगोरु हेराला राखेको जनाएको छ । हेरालुले छाडा गाईगोरु नियन्त्रण गर्न नसक्दा किसानले ठूलो क्षति बेहोर्नु परेको छ ।

attariya hospital

वडा नम्बर ४ का किसान दिपक चौधरीले छाडा गाईगोरुले एकैदिनमा ७ विगा क्षेत्रफलमा लगाएको गहुँ खाएको बताए । ‘गाईगोरुले खाएको बाली कामै नलाग्ने भएको छ’ उनले भने ‘बस्तीमा दैनिक १० देखि १५ छाडा गाईगोरु आउने गरेका छन ।’

उक्त वडामा नगरपालिकाले २ जना छाडा गाईगोरु हेराला राखेको भएपनि स्थानीयले भने हेरालु नदेखिने तर छाडा गाईगोरु भने गाउँमा दैनिक जसो आइरहने बताएका छन ।

navjiwan hospital

उता वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले नगरपालिकाबाट खटाएका हेरालु बुढीतोलामा खटाइएको बताए । उनले बुढीतोलामा खटाइएका हेरालुले त्यहाँ कान्जी हाउसमा राखिएका छाडा गाईगोरु हेर्ने गरेको बताए ।

‘तल्लो भेगका छाडा गाईगोरु लगेर बुढीतोलाको फोक्सेडाँडाँमा राखेका छौ । त्यही हेरालु खटिएका छन’ उनले भने ‘तराई क्षेत्रका छाडा गाईगोरु ३ नम्बर वडामा रहेको गौशालामा पठाउँन्छौ ।’

वडा नम्बर ४ को बुढीतोलामा कति छाडा गाईगोरु राखिएका छन भन्ने बारेमा भने आफूलाई जानकारी नभएको वडा अध्यक्ष भण्डारीले बताए ।
वडामा परिचालन गरिएका हेरालुलाई बजार तथा गाउँमा छोडीएका छाडा गाईगोरुलाई साँझ कान्जी हाउस तथा कुनै निश्चित ठाउँमा राख्ने जिम्मेबारी दिइएको नगरपालिकाले छ । तर, हेरालुले सबै छाडा गाईगोरु नियन्त्रण गर्न नसक्दा किसानले लगाएको बालि छाडागाईगोरुले खाने गरेका छन ।

नगरपालिकाले मासिक ८ हजार तलब दिने गरी १० जना हेरालु राखेको नगरपालिकाका लेखा शाखा अधिकृत राम चन्द्र जोशीले बताए ।
यसरी नगरपालिकाले हेरालुको तलबमा मात्रै बार्षिक ९ लाख ६० हजार खर्च हुने गरेको छ । लेखा शाखा अधिकृत जोशीले ३ बर्ष देखि नै नगरभित्र हेरालु राख्दै आएको बताए ।

नगरपालिकाले छाडा गाईगोरु नियन्त्रणका लागि हेरालु राखेको भएपनि यसको दिर्घकालिन सामाधानका लागि भने खासै पहल गर्न सकेको छैन ।