कैलाली – ४ मा चुनावी रणनीति बनाउँदै कांग्रेस
अत्तरिया – बैसाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले चुनावी रणनीति र संगठन बिस्तारको लागि छलफल सुरु गरेको छ । कांगेसले स्थानीय चुनावको मिति तोकिए संगै क्षेत्र नम्बर ४ भित्र रहेका तिन पालिकामा चुनाव लक्षित छलफल सुरु गरेको हो ।

क्षेत्र भित्र आगामी स्थानीय तहको निर्वाचन जित्नका लागि पार्टीले पहिलो पटक कार्यालय नै स्थापना गरेर छलफललाई तिब्रता दिएको छ । अत्तरियाको वनखेतमा एउटै भवनमा पार्टीको क्षेत्रिय कार्यालय, प्रदेश ‘ख’ र नगर कार्यालय स्थापन गरिएको छ ।

कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकायाले पहिलो पटक क्षेत्रको कार्यालय स्थापना गरेर क्षेत्र मातहतका सबै सभापतिहरु संग चुनाव संगै संगठन बिस्तारको कामलाई तिव्रता दिन बिषयमा गहन छलफल गरेको बताए । उनले बिहिबार आफू सहित क्षेत्र नम्बर ४ ‘क’ का सभापति काशी राम शर्मा, क्षेत्र नम्बर ४ ‘ख’ का सभापति गोपाल दत्त भट्ट, गोदावरी नगर सभापति बिर बहादुर चोखाल, गौरीगंगा नगर सभापति पहल बिक्रम चन्द, चुरे गाउँपालिका सभापति हेम शाहले पार्टी कार्यालयमा चुनाव लक्षित छलफल गरेको बताए ।
‘५ जना सभापति बसेर समसामयिक र पार्टीको संगठन बिस्तारका बिषयमा छलफल भएको छ’ उनले भने ‘पार्टीलाई कसरी चुस्त दुरुस्त बनाउने । नजिकै आएको चुनावलाई कसरी व्यवस्थित गर्ने । नेपाली कांग्रेसलाई तिन वटै तहको चुनाव सगै नजिकै आइरहेको स्थानीय तहको चुनावमा कसरी जिताउने भन्ने बिषयमा गहन छलफल भयो ।’ उनले टोल–टोलमा भेला गरेर प्रत्येक टोलमा १५ दिन भित्रमा समिती बिस्तार गर्ने योजना अगाडी बढाइएको बताए ।

स्थानीय चुनाव घोषणा भएपछि पार्टीभित्रको आन्तरित मनमुटावलाई मेटाउने गरी छलफल थालिएको नेताहरुले बताएका छन । २०७४ सालको स्थानीय तहको चुनावमा पनि आन्तरिक मनमुटावकै कारण पराजय भोगेको बताउँदै आएका नेताहरुले यस पटक भने एक भएर चुनाव लड्ने रणनीति सहित चुनाव केन्द्रित छलफलाई अगाडी बढाएको बताएका छन ।
केही समय अगाडी पार्टीको आन्तरिक चुनावमा वडा देखि पालिका र क्षेत्रमा २ प्यानल चुनावी मैदानमा उत्रिएकाले सो समयमा बढाएको दुरीलाई पनि मिटाउने रणनीतिमा नेताहरु लागेका छन ।
क्षेत्र नम्बर ४ ‘ख’ का सभापति भट्टले यस पटकको स्थानीय तहको चुनावमा नेपाली कांग्रेस एक ढिक्का भएर अगाडी बढ्ने बताए । उनले अहिले देखि आन्तरिक तिक्तता मेटाउने गरी भेटघाट र छलफललाई अगाडी बढाएको बताए ।
कैलाली क्षेत्र नम्बर ४ मा आफ्नो पकड बलियो बताउने गरेको कांग्रेसले २०७४ सालको स्थानीय तहको चुनावमा भने क्षेत्र भित्रका तिन वटै पालिकाको नेतृत्वमा पराजय बेहोर्नु परेको थियो । अहिले तिन वटै पालिमाका नेकपा एमालेका मेयर/अध्यक्षले नेतृत्व गरिरहेका छन ।
२०७४ को स्थानीय चुनावमा गोदावरी नगरमा नेकपा एमालेबाट हरी सिह साउँद ९ हजार ८७० मत ल्याउँदै विजयी भएका थिए । कांग्रेसका बिरेन्द्र भट्टले ८ हजार ४५७ मत ल्याउँदा नेकपा माओवादीबाट गोकर्ण भट्टले ६ हजार ४८१ मत ल्याएका थिए । अहिले गोकर्ण भट्ट पनि नेकपा एमालेमै रहेका छन ।
त्यस्तै गौरीगंगा नगरपालिकामा एमालेका भिम बहादुर देउवा ५ हजार ८९१ मत ल्याउँदै विजयी भएका थिए । गौरीगंगामा दोस्रो बनेको नेकपा माओवादीका देवी दत्त कडेलले ५ हजार ८३० मत ल्याउँदा कांग्रेसका दिनेश राज जोशीले ५ हजार २९२ मत ल्याएका थिए ।
चुरेमा २ हजार ५६१ मत ल्याउँदै नेकपा एमालेकै धन बहादुर रोकामगर बिजयी भएका थिए । दोस्रो बनेको कांग्रेसका टिका राम ढुंगानाले २ हजार २६६ मत ल्याउँदा तेस्रो बनेको नेकपा माओवादीले १ हजार ३५१ मत ल्याएका थिए ।
क्षेत्र नम्बर ४ मा भएको स्थानीय तहको चुनावमा तिन वटै पार्टी बिच प्रतिस्प्रधा भएको थियो । यस पटक नेकपा एमाले बिभाजन भएकाले यसको फाइदा कांग्रेसले लिन सक्ने आकलन गरिएको छ । तर, त्यसका लागि आन्तररिक रुपमा कांग्रेस बलियो हुनुपर्ने कांग्रेस नेताहरुको बुझाई छ ।
