खाेज्नुहाेस

डोटीमा हिउँ खेल्ने आन्तरिक पर्यटकले चहल पहल बढ्यो

Image

डोटी – डोटी सहित समग्र सुदूरपश्चिममा गएको बिहीबार रातीदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडा काँडा सेताम्मे भएका छन् । हिउँले सेताम्मे भएका यहाँका डाँडा काँडामा हिउँ खेल्नकै लागि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ ।

यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबै भन्दा बढी हिमपात भएपछि अहिले त्यहाँ सरकारी कर्मचारीदेखि आन्तरिक पर्उटकहरु दिनहुँ हिउँ खेल्नमा रमाउने गरेका छन् । बग्लेकमा सातवर्ष यताकै ठूलो हिउँ यो वर्ष परेकाले पनि यहाँ हिउँ खेल्नकै लागि पर्यटकहरुको घुइँचो बढेको स्थानीयवासीहरु बताउँछन् ।

attariya hospital

जिल्लामा कोरोना जोखिम कायमै रहेको र सार्वजनिक ठाउँहरुमा बढी भिडभाड नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेपनि हिउँ खेल्नका लागि दैनिक सयौँ नागरिकहरु बग्लेक पुग्ने गरेको स्थानीयवासी भरतबहादुर साउँदले बताए । उनले भने, “हिउँले डाँडा काँडा र रुखहरु सेताम्मे भएका छन्, कोरोनाको बेवास्ता गर्दै स्थानीयवासी दैनिक हिउँ खेल्न आउने गरेका छन् ।”

navjiwan hospital

हिउँ खेल्नका लागि बग्लेकमा दिनहुँ आन्तरिक पर्यटकहरु भित्रिन थालेपछि यहाँको व्यापार व्यवसायपनि फष्टाएको उहाँको भनाइ छ । हिउँ खेल्न आउने आन्तरिक पर्यटकहरुका कारण यहाँको चहल पनि निकै बढेको अर्का स्थानीय धनबहादुर विष्टले बताए । उनले भने, “बग्लेकलाई मिनी खप्तडका रुपमा पनि चिनिदै आएको थियो, अहिले हिउँ परेपछि आन्तरिक पर्यटक आउन थालेका कारण यहाँको चहल पहल झनै बढेको छ ।”

हिउँमा टिकटक बनाउनेदेखि हिउँमा दिनभरी चिप्लेटी खेल्ने पर्यटकका कारण अहिले बग्लेकमा चहल पहल एका एक बढ्दै गएको छ । जिल्ला सदरमुकाम सिलगढीबाट करिब ३० मिनेटको गाडी यात्रामा पुगिने भएकाले पनि बग्लेकमा अहिले हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको लडबुद्ध होटेल सिलगढीका सञ्चालक शिद्धराज जोशीले बताए ।

उनले भने, “गाडीको यात्रामा बग्लेक नजिकै छ, त्यसैमा झन यो वर्ष उल्लेख्य मात्रामा हिउँ परेपछि उक्त क्षेत्र पर्यटकको प्रमुख रोजाइँमा परेको हो ।” शुक्रबारदेखि उक्त क्षेत्रमा कम्तीमा पनि तीनहजार जना आन्तरिक पर्यटकहरु हिउँ खेल्नका लागि त्यहाँ पुगेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खप्तडमा बग्लेक भन्दा बढी हिउँ परेकाले त्यहाँका जनावरहरु अहिले बग्लेक क्षेत्रमा झरेका कारण पनि विभिन्न जङ्गली जनावर देख्न सकिने भएकाले पर्यटकहरु आउन थालेका छन् । अग्लो डाँडामा रहेको बग्लेकमा मैदान जमिन हरियाली ठाउँ भएको र घाडचडीको पनि व्यवस्था भएकाले पहिले देखि नै पर्यटक आउने गरेको तथा अहिले हिमपात भएकाले पनि पर्यटकहरुको सङ्ख्या बढेको भिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए ।