अत्तरिया – सरकारले पुर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने घोषणा गरेको भएपनि सुदूरपश्चिममा भने सडक बिस्तारका टुक्रे योजनामै करोडौ खर्च हुने गरेको छ । घोषणा अनुसार सुदूरपश्चिम क्षेत्रमा राजमार्ग ४ लेन बनाउने काम अगाडी नबढ्दा अहिले पनि सडक बिस्तारका नाममा टुक्रे योजना बनाएरै विस्तारको काम हुँदै आएको छ ।
सरकाले ६ बर्ष अगाडी गरेको घोषणा अनुसार सुदूरपश्चिमको चिसापानी देखि गड्डाचौकी सम्म ४ लेन सडक बनाउने भनिएको थियो । तर, अहिले राजमार्ग बजार क्षेत्रमा मात्रै ३ लेनमा बिस्तार गर्ने काम हुँदै आएको छ ।

जसअन्तरगत बजार क्षेत्रमा राजमार्ग किनारमा भरान गरेर कालोपत्रे गरिदै आएको भएपनि अत्तरियामा भने सडकको क्षेत्राधिकारको बिचमै पर्ने गरी लाखौं रकम खर्चेर २ सय ३० मिटर लम्बाईको पर्खाल निर्माण गरिदैं छ । अत्तरियाको महेन्द्रनगर रोडमा एक लेन सडक मात्रै बिस्तार हुने गरी पर्खाल निर्माण गर्न लागिएको हो ।
राजमार्गको दुवैतफै २५/२५ मिटर राजमार्गको क्षेत्राधिकार रहेको छ । स्थानीयले निकट भबिस्यमै ४ लेन सडक बनाउने भनिएपनि अहिले १ लेन मात्रै बिस्तार हुने गरेर लाखौंको पर्खाल लगाउनु बजेट सक्ने मेलो मात्रै भएको आरोप लगाएका छन ।
‘कि सडकको क्षेत्राधिकार सम्म वाल लगाए दिगो हुन्थ्यो । कि बिना वाल पनि सडकको क्षेत्राधिकार सम्म माटो भरान गर्न सकिन्थ्यो’ स्थानीय कमल कडायतले भने ‘बिच सडकमा वाल लगाएर लाखौं रकम सक्ने काम भएको छ ।’


सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले बजेट बढी खर्च हुने भएकाले एक लेन मात्रै बढाउने गरी सडक बिस्तार गर्न लागिएको बताए ।
‘हामीले अहिलेको आवश्यकतालाई मध्यनजर गरेर १ लेन सडक बढ्ने गरी वाल निर्माण गर्न लागेका हौ’ उनले भने ‘हामीले पछिका लागि पनि किफायती हुने गरी वालको हाईट कम राखेका छौ । पुर्व पश्चिम राजमार्ग ४ लेन बनाउने अवधारण अनुसार २५ मिटर सडक भित्र कहाँ वाल राख्ने भन्ने काम त आउने प्रोजेक्टले गर्छ । २५ मिटर टाढा वाल राख्न सकिने भएपनि त्यो बढी खर्चिलो हुने थियो ।’
उनले अहिले गड्डाचौकी देखि नै बजार क्षेत्रमा सडक बिस्तार गर्ने गरी काम अगाडी बढाइएको बताए । गड्डाचौकी देखि अत्तरिया सम्म सडक विस्तार गर्ने क्रममा अत्तरियामा पर्खाल लगाउने काम गरिएको उनले बताए । सडक विस्तारका लागि मैनाचुली मालिका एमबिए जेवीसंग ३ करोड ७२ लाखमा २०७९ बैशाख मसान्त सम्म काम सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

जसअन्तरगत गड्डाचौकी देखि अत्तरिया सम्मको सडकका बिभिन्न भागमा कालोपत्रे गर्ने, कल्भर्ट फराकीलो पार्ने, पर्खाल लगाउने, भरान गर्ने काम गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख भट्टले बताएका छन । उनले अत्तरियामा पर्खाल निर्माण गरेर भरान गरिए पनि कालोपत्रे भने नगरिने बताए ।


















