अत्तरिया – नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेर गोदावरी नगरपालिका – १० का वडा अध्यक्ष बनेका रबिन्द्र शाही ‘गुड्डु’ ले कृषि व्यवसाय सुरु गरेका छन । कृषिलाई व्यवसाय बनाउने उद्देश्यले उनले आफ्नै निजी जग्गामा रियान्सु एग्रो फार्म संचालनमा ल्याएका हुन ।
‘राजनीतिलाई सेवाको रुपमा लिएकाले मैले आफ्नो जिविकोपार्जन गर्नका लागि कृषि फार्म संचालनमा ल्याएको हुँ’ उनले भने ‘वडा मार्फत जनताको सेवा गर्नका लागि आफ्नो व्यवसाय हुन आवश्यक भएकाले कृषि फर्म संचालनमा ल्याएको छु ।’ उनले फर्ममा लोकल कुखुरा, बोइलर कुखुर, लेयर्स कुखुर, हाँस, टर्की र बंगुर पालन गरेका छन ।


यसै बर्ष देखि फर्म संचालनमा ल्याएका उनले हाल बोइलर कुखुरा र लोकल कुखुरा बिक्री सुरु गरेका भएपनि अन्य प्रजातिको भने विक्री सुरु नभएको बताए । ‘बोइलर कुखुराबाट नाफा पनि छिटो हुने र बिक्री गर्न पनि सहज हुने रहेछ’ उनले भने ‘लोकल कुखुरा पाल्न सजिलो भएपनि बजारको पनि समस्या छ ।’ उनले १ हजार लोकल कुखुरा राखेकोमा अहिले आधा भन्दाबढी बिक्री भइसकेको बताए ।
त्यस्तै उनले फर्ममा २ हजार ५ सय लेयर्स कुखुरा पालन गरेका छन । उनले पंक्षि प्रजाती अन्तरगत केही मात्रामा टर्की र हाँस पालन गरेको बताए । फर्ममा उनले सुरुमा २५ वटा बंगुर पालन गरेको बताए । अन्य व्यवसाय भन्दा बंगुर पालनमा नाफा हुने भएकाले बंगुरको संख्या बढाउने लक्ष्य लिएको उनले बताए । ‘फर्ममा जग्गा सहित अहिले सम्म ढाइ करोड लगानी लागेको छ । जसमा भौतिक संरचना निर्माणका लागि ५० लाख खर्च भएको छ’ उनले भने ‘फर्ममा अहिले ५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन ।’


उनले आफू वडाका काममा बढी व्यस्त हुने भएकाले आमा र श्रीमतीले फर्मको काममा सघाउने गरेको बताए । उनले फर्म संचालनका लागि कतैबाट अनुदान नलिई व्यक्तिगत रुपमा ऋण लिएर लगानी गरेको बताए । २३ कट्टा जग्गामा घेरबार गरेर फर्म निर्माण गरेका उनले १० कट्टा जग्गामा घाँसको खेती गरेको बताए । उनले व्यवसायिक उद्देश्यले फार्ममा ४ हजार लिप्टीसका बिरुवा रोप्ने योजना रहेको बताए ।
‘राजनीतिमा लागेका मानिसहरुले आफ्नो जिविकोपार्जनका लागि व्यवसाय गर्न आवश्यक छ’ उनले भने ‘राजनीतिमा लाग्ने मानिस व्यवसायमा लागे मात्रै भ्रष्ट्राचार कम हुन सक्छ ।’ उनले राजनिति विरुद्ध सेवा भएकाले जनताको सेवा गर्नलाई राजनितिमा लागेको बताए ।
‘जनताको सेवा गर्नका लागि राजनितिमा लागेको हुँ’ उनले भने ‘राजनितिलाई कमाई खाने भाँडो नबनाई बिना स्वार्थ जनताको काम कारबाही गर्ने मेरो लक्ष्य छ ।’
उनले कृषि पेशालाई व्यवसायीक रुपमा लैजान सके स्वरोजगार बन्न सकिने बताए । उनले आफु सेवा गर्नलाई राजनीतिमा लागेको र जिविकोपार्जनका लागि कृषि कार्य थालेको बताए ।
वडाध्यक्ष गुड्डु २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिका – १० को वडाध्यक्षमा भारी मतान्तरका साथ विजयी भएका थिए । वडाध्यक्षमा विजयी भए देखि नै उनले वडामा पनि कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर कार्य गर्दै आएको बताएका छन ।

















