अत्तरिया – छाडा गाईगोरु व्यवस्थापनका नाममा दर्जनौ संघसस्था खुलिसकेका छन । छाडागाईगोरु व्यवस्थापन गर्ने चुनावी एजेण्डा बनाएर धेरै नेता अहिले सत्तामा पुगेका छन । छाडा गाईको संरक्षण गर्न भन्दै धेरै हिन्दुवादीले आफ्ना संगठन बिस्तार गरिसकेका छन ।
तर, छाडागाईगोरुको नाममा सत्ता, संगठन र सम्पती जोडेकाहरुले यिनीहरुको व्यवस्थापनमा भने ध्यान नदिदाँ अहिले पनि छाडागाईगोरुको विभत्र्स मृत्युवरण भइरहेको छ ।

पछिल्लो समय यसैको ज्वलन्त उदाहरण बनेको छ राधाकृष्ण गौ सेवा संरक्षण समिति । स्थानीय सरकारको आर्थिक सहयोग पाइने आश्वासनमा कैलालीको गोदावरी नगरपालिका –३ चौकीडाँडाँ सामुदायिक वनमा २ बर्ष अगाडी स्थापना भएको यो गौशाला अहिले छाडा गाईगोरुको चिहान बनेको छ ।
संचालन समितिले गौशाला संचालनका लागि आर्थीक समस्या भएको भन्दै पछाडी हटेपछि अहिले दर्जनौ छाडागाईगोरु रोग, भोक र कठ्याङ्गीदो चिसोले मरेका छन । वन भित्र करिब २ विगा जग्गामा तारबार गरेर राखिएका ति छाडा गाईगोरुका लास यत्रतत्र छरिएका छन ।
समितिका पदाधिकारीले गौशालाभित्र निर्माण गरेका टहरा, पानीको बोरिङ लगायतका संरचना समेत निकालेर लगेपछि छाडा गाईगोरु झन बढी मरेको स्थानीयको भनाई छ ।
स्थानीय रमेश भट्टराईले संचालन समितिले कमाई खाने भाडो बनाएका कारण अहिलेको अवस्था आएको बताए । सुरुमा समितिका मानिसहरुले निस्वार्थ रुपमा गौशाला स्थापना गरेको भनेर प्रचार गरेपनि पछि व्यक्तिगत स्वार्थमा लाग्दा गौशाला लथालिङ्ग भएको बताए । ‘निस्वार्थ भावनाले काम गरेको भनेर अहिले गौशालामा बनाएको छाना समेत लगेर जानु भएको छ । पानी खाने धारा लगेर गएका छन’ उनले भने ‘कतैबाट आर्थिक सहयोग आउला र खाउला भन्ने मनसाय राखेकाले समस्या आएको हो ।’

स्थानीय सुरेन्द्र जोशीले छाडा गाईगोरुको यो अवस्था देखेर निकै दुःख लागेको बताए । ‘एउटा राष्ट्रिय जनावर गाई यसरी मर्नु भनेको हामी आफै मर्नु हो । यो देश मर्नु हो’ उनले भने ‘अब बचेका गाईलाई बचाउन सबैले लाग्नु पर्छ ।’ उनले यसअघिको समिति आफ्नो स्वार्थमा लागेका कारण छाडा गाईगोरुको यस्तो अवस्था भएको बताए ।
उता राधाकृष्ण गौ सेवा संरक्षण समितिका सचिव गणेश सार्कीले भने गौशाला संचालनका लागि कसैले सहयोग नगरेपछि बाध्य भएर छोड्नु परेको बताए ।
उनले चिसोका कारण गाईगोरु मर्न थालेको भन्दै गोदावरी नगरपालिका संग टहरा माग गर्दा सुनुवाई नगरेको बताए । ‘हामीले ४ जना कर्मचारी र ट्रसको लागि नगरपालिका संग माग गरेका थियौ’ उनले भने ‘नगरपालिकाले हामी ९ नम्बर वडामा व्यवस्थापन गर्छौ भन्यो अनी हामीले छोडिदियौं ।’
उनले २ बर्षको अवधिमा समितिबाट ६० देखि ७० लाख खर्च भएपनि नगरपालिकाबाट भने ४ लाख मात्रै सहयोग भएको बताए ।
‘सडकमा छाडा गाईगोरु मर्न थाले । गाईगोरुलाई बचाउनु पर्छ भन्ने उद्देश्यले हामीले यो गौशाला निर्माण गरेका थियौ’ उनले भने ‘तर, हामी सफल हुन सकेनौ । जती पुजी थियो त्यती लगानी गर्यौ । अहिले स्टापहरुलाई तलब नै दिन समस्या भएपछि छोडेका हौ ।’

उनले २ हप्ता अगाडी छाडा गाईगोरुको व्यवस्थापनको काम छोडेको बताए । उनले गौशाला छोड्नु अगाडी स्थानीय सरकार देखि सबै निकायलाई जानकारी गराएपनि कसैले वास्ता नगरेको बताए । उनीहरुले छाडा गाईगोरुको लागि टहरा निर्माण र हेरालुको माग गर्दै पुस २१ गते नगरपालिका कार्यालयमा घेराउ गरेका थिए ।

२ बर्ष अगाडी छाडा गाईगोरुको व्यवस्थापन गर्ने भन्दै स्थानीय मनोज मलासिको अध्यक्षतामा राधाकृष्ण गौ सेवा संरक्षण समिति स्थापना गरिएको थियो । पछि उनी समितिबाट हटेपछि राजु बहादुर शार्की अध्यक्ष बनेका थिए । हाल उनी सम्पर्कमै नरहेको स्थानीयले बताएका छन । समितिले करिब ५ सयको संख्यामा बजार क्षेत्रमा छोडिएका छाडा गाईगोरुको संरक्षण गरेको थियो ।
स्थानीयले समितिले छाडा गाइगोरु व्यवस्थापन गरेको समयमा पनि मर्ने गरेका भएपनि उनीहरुले छोडेपछि भने एकै पटक ठूलो संख्यामा छाडा गाईगोरु मरेको बताएका छन । २ दर्जन भन्दा छाडा गाईगोरु एकै ठाउँमा मरेका कारण सो क्षेत्र दुर्गन्धित समेत बनेको छ ।
स्थानीय दुर्गा कुमार पोखरेलले प्रदेशकै समस्याका रुपमा रहेको छाडा गाईगोरुको व्यवस्थापनमा समितिकै मुख ताकेर मात्रै सम्भव नभएको बताए । ‘स्थानीय सरकारले हालसम्म ४ लाख मात्रै सहयोग गरेको रहेछ । वनले पनि बाह्य चरणमा रोक लगाएको रहेछ’ उनले भने ‘अब यो साझाँ सरोकारको विषय भएकाले यिनीहरुको व्यवस्थापनका लागि सबै लाग्नुपर्ने देखिन्छ ।’

गाईगोरु पुर्न मात्रै आयो स्थानीय सरकार
स्थानीय चुनावमै छाडा गाईगोरुको व्यवस्थापन गर्ने एजेण्डा बनेको भएपनि निर्वाचित प्रतिनिधिले भने अहिले सम्म यसको ठोस व्यवस्थापन गर्न सकेका छैनन् । छाडा गाईगोरुको व्यवस्थापनमा असफल हुँदै आएको स्थानीय सरकार मरेपछि भने पुर्नका लागि निःशुल्क जेसिवी सहयोग गदै आएको छ । बजार क्षेत्रमा मर्ने गरेका छाडा गाईगोरु जेसिवीको सहयोगमा खाडलमा पुर्ने गरेको स्थानीय सरकारले आईतबार पनि गौशालामा मरेका गाईगोरुलाई खाडलमा पुरेको थियो ।

ठूलो संख्यामा सो क्षेत्रमा गएका स्थानीयले जनप्रतिनिधिलाई हेर्न आइदिन फोन मार्फत पटक पटक आग्रह गर्दा समेत कोही प्रतिनिधि उपस्थित भएका थिएनन् । जसका कारण स्थानीय सरकाले बेवास्था गरेपछि पुनः स्थानीय नै संगठित भएर नयाँ छाडा गाईगोरु व्यवस्थापन समिति गठन गरेका छन । स्थानीयले रिता खड्काको अध्यक्षतामा सुदूरपश्चिम गौशाला नामक समिति गठन गरेका हुन ।
अध्यक्ष खड्काले बाँकी रहेका छाडा गाईगोरुको व्यवस्थापनका लागि स्थानीय संगको सहकार्यमा काम अगाडी बढाइने बताईन् । उनले घरदैलो कार्यक्रम गरेर भएपनि छाडा गाईगोरुका लागि आहारा संकलन गरिने बताईन् ।
‘हामीले घरदैलो गरेर पराल हुनेको घरबाट पराल नभए पैसा संकलन गरेर यिनीहरुको व्यवस्थापन गर्ने योजना बनाएका छौ’ उनले भनीन् ‘सबैभन्दा पहिले यिनीहरुको लागि टहरा निर्माण गर्न आवश्यक छ ।’ उनले यसअघि संचालन गरेको समितिले टहरा समेर लगेर जानु दुःखद् भएको बताईन् । उनले दिनभरी छाडा गाईगोरु जंगलमा चर्न जाने भएपनि राती भने गौशालामै बस्न आउने गरेको बताईन् ।


















