अत्तरिया – लामो समयको रस्साकस्सी पछि एमाले गोदावरी नगर कमिटीको नयाँ नेतृत्व चयन गरिएको छ । नगर कमिटी चयन गर्नका लागि कार्तिक १५ गते नगर अधिवेशन उद्घाटन गरिएको भएपनि त्यसको करिब ३ महिना पछि नयाँ नेतृत्व चयन गरिएको हो ।
मंगलबार अत्तरियामा बसेको बन्दसत्रबाट नगर कमिटीको अध्यक्षमा पुनः गोकर्ण भट्ट दोहरीएका छन । त्यस्तै उपाध्यक्षमा बल बहादुर चौधरी, सचिवमा जिवन कुमार शाह, उप– सचिवमा महाविर बिक र राधा जोशी सहित ५३ सदस्यीय कमिटी चयन गरिएको छ । नगर कमिटीले अन्य सदस्य पछि थप गरिने जनाएको छ । एमाले विधान अनुसार गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ सदस्य रहेको कमिटी गठन गर्नसक्ने व्यवस्था छ ।

सुरुमा अध्यक्षमा कुरा नमिल्दा अधिबेशन लम्बिएको थियो । पछि पार्टीको केन्द्रिय र जिल्ला अधिवेशनका कारण एमाले गोदावरी नगरको नेतृत्व चयन गर्न ढीलाई भएको भनिएपनि लामो समयपछिको कसरत पछि बसेको बन्द सत्रले घोषणा गरेको कमिटीको पनि पार्टीकै नेता कार्यकर्ताहरुबाट चर्को विरोध गरिएको छ ।
अध्यक्षमा गोकर्ण भट्ट र आनन्द भट्टको नाम चर्चामा रहेको भएपछि आनन्द भट्ट जिल्ला सदस्यमा निर्वाचित भएपनि अध्यक्षको रेसबाट बाहिरिएर पनि नयाँ कमिटी चयन भने विवाद रहित हुन सकेन ।
मंगलबार सम्पन्न बन्द सत्रमा छलफल नै नगरी एकलौटी ढंगले नयाँ कमिटी चयन गरिएको भन्दै नेता कार्यकर्ता विरोधमा उत्रिएका हुन ।
पार्टीको विधि पद्धती मिचेर एकलौटी ढंगले नगर कमिटी चयन गरिएको उनीहरुको आरोप छ । ‘अधिवेशन भनेपछि प्रतिनिधिहरुले आफ्नो अधिकार प्रयोग गर्न पाउनु पर्ने हो’ एमाले गोदावरीका एक नेताले भने ‘चुन्न र चुनीन पाउने अधिकार प्रतिनिधिमा हुन्छ । अधिवेशनमा यी दुई अधिकार प्रतिनिधिहरुले प्रयोग गर्न पाएनन् । सिधै जिल्ला नेतृत्वले नयाँ कमिटीको घोषणा गर्याे । छलफल गर्न दिइएन ।’

चुक पेले जस्तै पेलियो

नगर कमिटी अध्यक्ष मण्डलबाट एक्कासी घोषणा गरिएको भन्दै नेताहरुले केही बेर हलमा होहल्ला समेत गरेका थिए । एमाले गोदावरीका पुर्व नगर सदस्य रहेका मोहन खत्रीले हलमा आफ्ना कुरा सुन्दै नसुनी एकलौटी ढंगले कमिटी गठन गरिएको बताए । उनले एमाले गोदावरी नगर अध्यक्षमा आफ्नो आकांक्षा भएपनि बोल्ने मौका समेत नदिइएको बताए ।
‘बिधि अनुसार बन्द सत्र सुरु भएपछि पुरानो कमिटीले आफ्नो कार्यभार अध्यक्ष मण्डललाई हस्तान्तरण गर्छ । अध्यक्ष मण्डलले निर्वाचन कमिटी बनाउँन्छ । निर्वाचन कमिटीले उम्मेदवारी दिने, फिर्ता लिन प्रक्रिया अगाडी बढाउँन्छ । त्यसपछि उम्मेदवारको नामावली प्रकाशित हुन्छ । त्यसपछि छलफल र सहमतिको प्रयास हुन्छ । सहमती भएन भने लोकतान्त्रिक बिधि अनुसार चुनाव हुन्छ’ स्थानीय सरकारको गोदावरी नगरपालिका – ३ का वडा अध्यक्ष समेत रहेका उनले भने ‘यी कुनै प्रक्रिया पुरा गरिएन् । कार्यकर्ताको भावना विपरित कमिटी घोषणा गरियो ।’ उनले अध्यक्ष मण्डलले चुक पेले जस्तै पेलेर एकलौटी नयाँ कमिटी घोषणा गरेको बताए ।
उनले नेता कार्यकर्ताको ठूलो हिस्सा अहिलेको नगर कमिटी चयन पद्धतीको विपक्षमा रहेको बताए । छिटै बसेर के गर्ने भन्ने बिषयमा छलफल गर्ने उनले बताए ।
नयाँ कमिटी छनोट प्रक्रियाको हल भित्रै चर्को बिरोध गरेका एमालेका नेता कृत बहादुर चन्दले आफ्ना कुरा नसुनिए गोदावरीमा समानान्तर कमिटी चयन गरिने बताए ।

असन्तुष्ट पक्षलाई मिलाउँन्छौ
उता नवनिर्वाचित अध्यक्ष भट्टले भने अहिलेको कमिटी सहमतिमै चयन गरिएको बताए । उनले सामान्य केही असन्तुष्टि भएपनि आगामी दिनमा सबैलाई मिलाएरै अगाडी बढ्ने बताए ।
‘स्थानीय तहको निर्वाचन पनि नजिकै आइसकेकाले हामीले छिटै नगर कमिटी गठन गर्नुपर्छ भनेर हाम्रो नेतृत्वले नै पहल गरेर आज हामी नगर कमिटी चयन गर्न सफल भएका छौ’ उनले भने ‘गोदावरीमा कुनै टिम छैन । गुट पनि छैन । हामीले समग्रमा सबैलाई समेटेका छौ । हामी अहिले असन्तुष्ट भएका कम्रेडहरुलाई पनि सन्तुष्ट बनाउँन्छौ ।’
नगर कमिटी चयनका लागि एमालेका जिल्ला अध्यक्ष रतन थापाको नेतृत्वमा गोदावरी नगर कमिटी अध्यक्ष मण्डल चयन गरिएको थियो । नयाँ कमिटीको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण बुधबार बिहान पार्टीको नगर कार्यालयमा हुने जनाइएको छ ।


















