अत्तरिया– दुर्गन्धित बन्दै गएको अत्तरिया बजार सफाइका लागि २० जना महिला खटिएका छन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अत्तरिया बजार क्षेत्रभित्र सरसफाइ गर्नका लागि उनीहरु खटिएका हुन ।
१ सय दिने रोजगार कार्यक्रम अन्तरगत पुस १९ गते खटिएका उनीहरुले अत्तरियाको मुख्य बजार र शाखा सडकको सफाइ गरिहेका छन । जसका लागि गोदावरी नगरपालिका – १ मा रहेको जित्तलपुर बस्तीका १५ जना र वडा नम्बर –३ का बादी समुदायका महिला रहेका छन ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा धेरै जनाले फाराम भर्ने गरेका भएपनि सफाइका काममा अरुले रुची नदेखाउने भएकाले उनीहरुलाई प्राथमिकतामा राखि बजार क्षेत्रमा सरसफाइ गर्न लागिएको नगरपालिकाका रोजगार संयोजक राम लाल भट्टले बताए । नगरपालिकाको धेरै जसो वडामा १ सय दिने रोजगार कार्यक्रम सुरु हुन बाँकी रहेपनि तत्काल बजार क्षेत्रको सफाइका लागि भन्दै २० जना महिलाहरुको टोलीलाई नगरपालिकाले १ महिना अगाडी देखिनै परिचालन गरेको छ ।
बजार सफाइ गरिरहेका महिलाहरुको निरिक्षणमा खटिएकी गोदावरी नगरपालिकाकी बजार प्रतिनिधि जमुना देउवाले महिलाहरुलाई सफाइको काममा खटाएपछि बजारको सफाइमा धेरै सुधार भएको बताईन् ।

उनले अत्तरिया बजारमा नियमित फोहर उठाइने गरेको भएपनि त्यसका लागि सिमित श्रोत साधन भएकाले पुरै बजार क्षेत्रमा सफाइ गर्न समस्या हुने गरेको बताईन् । हाल २० जना महिलाहरुको टोलीले बजार क्षेत्र, नाली, फुटपाट, शाखा सडकमा सफाई गरिरहेका छन ।
उनीहरुलाई सफाइका लागि नगरपालिकाबाट बुट, पञ्जा र अन्य सफाइ सामग्री वितरण गरिएको छ । सफाई टोलीकी सदस्य फुलमती डगौराले १ सय दिने रोजगार भएपछि घर खर्च चलाउन सहज हुने बताईन् । उनले फोहरको काम गर्न विरामी हुने जोखिम भएपनि बाध्यताले काम गर्ने गरेको बताईन् ।
१ सय दिने रोजगार कार्यक्रममा सहभागि फुलमती चौधरीले अन्य समयमा पनि लेबरीको काम गर्ने गरेको बताईन् । ‘लेवरीको काममा नियमित काम पाईदैन’ उनले भनीन् ‘यस कार्यक्रममा लेवरीको भन्दा कम ज्याला भएपनि नियमित काम पाइने भएकाले आएका हौ ।’ उनले लेवरीको काममा दैनिक ६ सय ज्याला पाइने बताईन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा भने दैनिक ५७७ रुपैयाँका दरले ज्याला पाइन्छ ।
चौधरीले लेबरी भन्दा पनि अफ्ठ्यारो सफाइको काम भएको बताइन् । सफाइकै (बाँकी पृष्ठ ३ मा) काममा खटिएकी बिनिता चौधरीले सफाइको काममा निकै गाह्रो भएको बताईन् । उनले बाध्यताले सफाइको काममा खटिएको बताईन् ।
गोदावरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बजार सरसफाई, नाली निर्माण, तटबन्ध निर्माण, पार्क मर्मत, खेलमैदान निर्माण, गोरेटो बाटो निर्माण, पाईप लाईन खन्ने लगायतका योजना समेटिदै आएका छन ।


















