खाेज्नुहाेस

गोदावरीका ११ हजार बालबालिकालाई मोर्डना खोप लगाइने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र रहेका ११ हजार १ सय ७० बालबालिकालाई कोरोना बिरुद्धको मोर्डना खोप लगाइने भएको छ । नगरपालिकाले माघ १८ गतेदेखि नगरपालिका भित्र रहेका बालबालिकालाई यो खोप लगाउन लागेको हो ।

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले नगर भित्र रहेका सबै विद्यालयमा १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीलाई खोप लगाउन लागिएको बताए । जसका लागि सम्बन्धित वडाका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।

attariya hospital

गोदावरी नगरपालिकामा हाल ५४ वटा सामुदायिक र ३६ वटा संस्थागत विद्यालय रहेका छन भने ३ वटा गुरुकुल र मदरसा रहेका छन ।
शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्रीले उमेरको मापदण्ड भित्र पर्ने सामुदायिक र संस्थागत सबै विद्यार्थीलाई कोरोना खोप लगाइने बताए ।
‘माघ १५ देखि २० गते सम्म विद्यार्थीलाई खोप लगाउने भनिएपनि समयमा खोप आइनपुग्दा केही ढिलाई भएको छ’ उनले भने ‘अब १८ गतेदेखि नियमित विद्यालयहरुमा कोरोना खोप लगाइने छ ।’ उनले सबै विद्यार्थीलाई खोप लगाउन ५ दिन समय लाग्न सक्ने बताए ।

navjiwan hospital

‘खोप लगाउनका लागि विद्यालयहरुलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनेका छौ’ उनले भने ‘पायक पर्ने ठाउँमा स्वास्थ्यकर्मीले विद्यालयमै गएर खोप लगाउन सक्छन । नत्र विद्यार्थीहरुलाई नै खोप केन्द्रमा लगाउन सकियो । कोरोना खोपलाई फ्रिजिङ गरेर राख्नु पर्ने भएकाले धेरै खोप विद्यालयमा लग्न पनि समस्या हुने देखिएको छ ।’

हाल गोदावरी नगर भित्रका सबै बिद्यालय बन्द रहेका छन । नगरपालिकाले खोप कार्यक्रमका लागि विद्यार्थीलाई विद्यालयमा उपस्थित हुन आग्रह गरेको छ । खोप कार्यक्रममा सहभागि हुन विद्यार्थीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।

हाल सुदूरपश्चिमका ७ जिल्लाका बालबालिकालाई कोरोना खोप लगाइदै छ भने कैलाली र डडेल्धुरामा भने खोप लगाउने कार्यक्रम संचालन हुन सकेको छैन ।

सुदूरपश्चिममा ३ लाख २७ हजार ४ सय ८१ बालबालिकालाई कोरोना खोप लगाउने लक्ष्य रहेकोमा कैलालीमा मात्रै यो खोप १ लाख ८ हजार ४८५ बालबालिकालाई लगाइने भएको छ ।

हाल सुदूरपश्चिमका ७ जिल्लाका २ लाख १४ हजार ७७१ बालबालिकालाई कोरोनाको मोर्डना खोप लगाइसकिएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कञ्चनपुरका ६४ हजार १३९, अछामका ३३ हजार ८२५, बैतडीका ३२ हजार ५७४, डोटीका २७ हजार ३८३, बझाङका २३ हजार ९७६, बाजुराका १२ हजार ६३७ र दार्चुलाका १५ हजार २५७ बालबालिकालाई यो खोप लगाइसकिएको छ ।