काठमाडौँ – पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ’, उनले भने ।
विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


हाल देशको सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।
रासस

















