अत्तरिया – कोरोना संक्रमण बढेसंगै कैलालीका पालिकाहरुले दिने सेवा पनि प्रभाबित हुन थालेको छ । पालिकाका कर्मचारीहरुमा धमाधम कोरोना संक्रमण देखिन थालेपछि सेवा प्रभावित हुन थालेको हो । पालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि कैलालीका ४ पालिकाहरुले अत्यावश्यक बाहेका सेवा बन्द गरेका छन ।
जिल्ला समन्यव समिति कैलालीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र जोशीपुर गाउँपालिकाले सेवा बन्द गरेका छन । नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि ति पालिकाहरुले सेवा बन्द गरेको जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी बिमल प्रकाश जोशीले बताए । उनले बन्द नभएका पालिकाहरुमा पनि धेरै जसो कर्मचारीमा कोरोना देखिएको बताए ।

कर्मचारीमा कोरोना देखिएपछि कैलालीको एक मात्रै उपमहानगरपालिका धनगढीले आजदेखि १ साताका लागि सेवा बन्द गरेको जनाएको छ । उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै माघ १२ देखि १८ गते सम्म अत्यावश्यक सेवा बन्द गर्ने जनाएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले स्वास्थ्य, सरसफाई, दमकल र एम्बुलेन्स सेवा भने नियमित सूचारु रहने बताए । यस्तै मंगलबार नै सूचना जारी गर्दै गौरीगंगा नगरपालिकाले पनि आजदेखि अनिश्चित कालका लागि सेवा बन्द गरेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले नगरपालिकाका कर्मचारीमा कोरोना देखिएकाले अर्को सूचना जारी नभए सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए ।
यस्तै जोशीपुर गाउँपालिकाले पनि मंगलबार देखि नै १ साताका लागि सेवा बन्द गरिसकेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टेक बहादुर हमालले कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको बताए । गाउँपालिकाले मंगलबार देखि माघ १८ गते सम्म अत्यावश्यक सेवा बन्द गरेको छ ।
गोदावरी नगरपालिकाले भने माघ ९ गते देखि नै सेवा बन्द गरिसकेको छ । नगरपालिकाका १५ जना कर्मचारीका कोरोना देखिएपछि माघ ९ देखि १५ गते सम्म सेवा बन्द गरिएको थियो ।
जिल्लाका ४ पालिकाले सेवा बन्द गरेपनि सेवा सूचारु भएका अधिकान्स पालिकाका कर्मचारीमा पनि कोरोना सक्रमण पुष्टि भइसकेको छ ।
टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले नगरपालिकामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले नगरपालिका मातहतका स्वास्थ्य शाखामा कार्यरत २ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुुष्टि भएको बताए ।

लम्की चुहा नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले नगरपालिकाका १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताईन् । उनले नगरपालिकाको दमकल र जेसिविमा काम गर्ने २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र, अन्य ८ जना नगरपालिका मातहतकै स्वास्थ्य सस्थामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको बताईन् ।
घोडाघोडी नगरपालिकाकाको स्वास्थ्य शाखा सह–संयोजक वेद प्रशाद चौधरीले नगरपालिकामा कार्यरत १ जना कर्मचारीमा मंगलबार कोरोना देखिएको बताए । उनले नगरपालि मातहतको वडा नम्बर १ मा रहेको आधारभूत स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीमा पनि सोमबार कोरोना देखिएको बताए । उनले नगरपालिकाले हाल स्वास्थ्य मापदण्ड पालना गरी सेवा प्रवाह गरिरहेको बताए ।
भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश बहादुर डगौरा थारुले नगरपालिकाका २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीमा पनि कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएकाले १५ जनाको स्वाव संकलन गरेर सेती प्रादेशिक अस्पतालमा पठाएको बताए । उनले स्वावको रिपोर्ट बुधबार आउने बताए ।
चुरे गाउँपालिकाका प्रशासकिय अधिकृत काली प्रशाद भट्टले गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले अन्य धेरै कर्मचारीमा पनि रुघाखोकी, ज्वरो आउने समस्या देखिएको बताए । उनले कार्यालय भने बन्द नगरिएको बताए ।
जानकी गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक बिर्ख बहादुर बिष्टले पालिकामा काम गर्ने १ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको बताए । उनले पालिका भित्रका स्वास्थ्य संस्थामा काम गर्ने ७ जना कर्मचारी संक्रमित भएपनि गाउँपालिका भित्र काम गर्ने भने १ जनामा संक्रमण भएको बताए । ‘गाउँपालिकामा कार्यरत कर्मचारीको कोरोना परिक्षण पनि गरिएको छैन’ उनले भने ‘अहिले गाउँपालिकाको सबै सेवा सूचारु छ ।’
कैलारी गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण नदेखिएपनि १५ जना स्वास्वकर्मीमा भने संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव बिरेन्द्र प्रशाद सापकोटाले गाउँपालिकामा रहेको उदासिपुर स्वास्थ्य चौकीका ७ जना स्वास्थ्यकर्मी सहित १५ जनामा संक्रमण पुष्टि भएको बताए । पालिकाले गराएको एन्टिजेन परिक्षणमा अन्य ३६ जनामा पनि संक्रमण भएको उनले बताए ।
बर्दगोरीया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशीले ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार संक्रमित हुनेमा एक जना गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी र २ जना स्वास्थ्यकर्मी रहेका छन ।
मोहन्यान गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र बहादुर बुढाले भने हाल सम्म गाउँपालिकाका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण नदेखिएको बताए । कोरोनाका कारण पालिकाहरुको सेवा प्रभावित हुँदा जनताका दैनिक काम र विकास निर्माणका काम यस बर्ष पनि प्रभावित भएका छन । कोरोना रोकथाममा मुख्य भूमिका खेल्ने पालिकाहरु नै कोरोनाका कारण बन्द हुन थालेपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।


















