खाेज्नुहाेस

कैलालीमा चिसो बढेसंगै रुघाखोकी तथा ज्वरोका बिरामी बढे

Image

अत्तरिया – एक साता यता राम्ररी घाम नलागेपछि चिसो बढेको छ । बिशेष गरेर तराइका जिल्लाहरुमा केही दिन यता कुहिरो लागेको छ । कुहिरोले घाम नलाग्दा चिसो बढेको महशुस गरिएको हो । घाम नलाग्दा यस क्षेत्रमा न्युनतम तापक्रम सामान्य रहेपनि अधिकतम तापक्रम बढ्न नसक्दा चिसो बढेको मौसम विज्ञले बताएका छन ।

अत्तरिया क्षेत्रको तापक्रम मापन गर्दै आएको महाकाली बेसिस फिल्ड कार्यालयका अनुसार पछिल्लो १ साताको न्यूनतम तापक्रम करिब १० डिग्री सेल्सियसको हाराहारीमा रहेको छ  भने अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

attariya hospital

महाकाली बेसिस फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार अत्तरिया क्षेत्रमा बिहिबारको न्युनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

पछिल्लो एक साताको विवरण अनुसार शुक्रबार अत्तरिया क्षेत्रको अधिकतम तापक्रम १५ दशमलव ५ र न्युनतम तापक्रम ५ दशमलव ७, शनिबार अधिकतम १४ दशमलव ६ र न्युनतम १० दशमलव ८, आईतबार अधिकतम १४ दशमलव ५ र न्युनतम १० दशमलव ५, सोमबार अधिकतम १५ र न्युनतम १० दशमलव ५, मंगलबार अधिकतम १३ दशमलव ४ र न्युनतम ८ दशमलव ८, बुधबार १२ दशमलव ८ र न्यूनतम १० दशमलव २ डिग्री सेल्सियस रहेको छ । पछिल्लो ३ दिन यता न्युनतम तापक्रम स्थिर रहेपनि अधिकतम तापक्रममा गिरावट आउँदा चिसो महशुस गरिएको मौसम विज्ञान सहायक चौधरी बताए ।

रुघाखोकी तथा ज्वरोका बिरामी बढे

navjiwan hospital

चिसो बढेसंगै यस क्षेत्रका अस्पतालहरुका रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन । चिसोका कारण कैलालीको गोदावरी नगरपालिकामा रहेको मालाखेती पनि रुघाखोकी तथा ज्वरोका बिरामी बढेका हुन ।

अस्पतालका जनस्वास्थ्य निरिक्षक महेश दत्त पाण्डे चिसो बढेपछि रुघाखोकी र जरोका बिरामीको संख्या बढेको बताए । उनले हाल अस्पतालमा दैनिक ७० देखि ८० बिरामी आउने गरेकोमा त्यसमध्ये २५ देखि ३० जना बिरामी रुघाखोकीका हुने गरेको बताए ।

‘रुघाखोकीका बिरामीहरुमा कोरोना संग मिल्दोजुल्दो लक्षण पनि देखिने गरेका छन’ उनले भने ‘त्यस्ता लक्षण देखिएका बिरामीलाई हामीले स्वाव संकलनका लागि नगरपालिकामा पठाउने गरेका छौ ।’ अस्पतालमा हाल कोरोना संक्रमितका लागि १५ वेडको आइसोलेसन भएपनि स्वाव संकलन र एन्टीजेन परिक्षणका लागि भने नगरपालिका पठाउने गरिएको छ ।

उता प्रदेशकै ठूलो अस्पताल सेतीमा पनि चिसो बढेसंगै रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दैनिक साढे ३ सयदेखि ४ सय जनाको हाराहारीमा बिरामी अस्पतालमा आउने गरेको बताए ।

उनले सामान्य समयमा अस्पतालमा २ सय देखि ढाई सयको संख्यामा बिरामी आउने गरेको बताए । उनले बिरामी बढ्नुको कारण चिसो बढेकाले हुन  सक्ने बताए ।