बाजुरा – ६ दिन अगाडी भारतबाट फर्किएका बाजुराका एक कोरोना संक्रमितको मृत्यु भएको छ । पुस २७ गते भारबाट फर्किएका बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ गाज्राका ५२ वर्षीय संक्रमितको आफ्नै घरमा मृत्यु भएको हो ।
भारतमा मजदुरी गर्ने उनी कञ्चनपुरको गड्डाचौकी सीमा नाका भएर फर्किएका थिए । सीमामा ऐन्टिजेन परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो, तर उनी क्वारेन्टाइन वा आइसोलेसनमा नबसी पुस २८ गते सिधै घर पुगेका थिए ।


‘घर पुगेको चौंथो दिनमा उनको मृत्यु भएको खबर आयो,’ खप्तड छेडेदह स्वास्थ्य चौकी बाजुराका इन्चार्ज नन्दबहादुर रावतले भने ‘स्वास्थ्य मापदण्ड पूरा गरेर आइतबार मृतकको अन्तिम संस्कार गरिएको छ । इन्चार्ज रावतले मृतकसँगै गाउँ फर्किएका गाज्राका अन्य एकजना र पीपल गाउँका तीनजनामा संक्रमण पुष्टि भएको बुझिएको बताए ।
गाउँमा स्वास्थ्य परीक्षण, औषधि उपचार र कोरोना परीक्षणको सुविधा नरहेको स्वास्थ्य चौकीका इन्चार्ज रावतले बताए । ‘औषधि पनि खासै केही छैन,’ उनले भने ‘स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्ने तयारी भए पनि प्राविधिक नभएकाले ढिलाइ भएको छ ।’
संक्रमितको मृत्युसँगै गाउँमा संक्रमण व्यापक रुपमा फैलिएको हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।



















