सुदूरपश्चिममा बाढीपहिरोमा परेर १४ को मृत्यु
अत्तरिया, ३ कार्तिक –लगातारको वर्षापछि आएको बाढी, पहिरोमा परेर सुदूरपश्चिममा १४ जनाको ज्यान गएको छ । सोमध्ये १२ जनाको सनाखत भएको छ । पहिरोमा परेर सबैभन्दा बढी डोटीमा ९ जनाको ज्यान गएको छ । यस्तै गरेर बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको ज्यान गएको छ ।
डोटीमा ज्यान गुमाउनेमा एकै परिवारका चार जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पहिरोमा च्यापिएर जोरायल गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीय पवित्रा विक र १६ वर्षीय रविन विकको मृत्यु भएको हो ।
जोरायल गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको छ ।
डोटीकै सायल गाउँपालिका–६ खातिवाडामा घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर दिलबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुन्जेडा र ११ वर्षीय छोरा आशिस कुन्जेडाको मृत्यु भएको छ ।
डोटीकै शिखर नगरपालिका वडा नम्बर ११ कि ३५ वर्षीय मन्धरा बलायरको पहिरोको ढुङ्गा लागेर मृत्यु भएको छ ।
बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन् ।
डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दले बताए ।
डडेल्धुरामा खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको हो । घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेला माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताए ।