टीकापुर घटनालाई सेफल्याण्डिङको माग राख्दै थरुहट/थारुवान आन्दोलन पुनः ब्युँताउने तयारी अघि बढाइएको छ । थरुहट÷थारुवान आन्दोलनलाई आउँदो मंसिरदेखि सशक्त रुपमा उठाउने तयारी गरिएको हो ।
जसअन्तर्गत साउनदेखि तराईका जिल्लाहरुमा आन्दोलनको स्वरुप र एजेण्डाबारे जानकारी गराउने काम भइरहेको छ । यसैको सिलसिलामा थरुहट/थारुवान आन्दोलनका अगुवा लक्ष्मण थारु देश दौडाहामा निस्किएका छन् ।

बुधवार दाङको लमही आइपुगेका उनले टीकापुर घटनामा झूटा मुद्धा लगाइएको र अहिले जेल जीवन बिताइरहेकाहरुलाई विनासर्त रिहाइको माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलनको तयारी भैरहेको जानकारी दिए ।
दाङको लमहीमा पत्रकार सम्मेलन गर्दै थारुले तेस्रो चरणको निर्णायक आन्दोलन गरिने बताए। ‘२७ जनालाई झूटा मुद्धा लगाइएको छ । ७ जना हिरासतमा छन् । सबैको विनासर्त रिहाइ गरिनुपर्छ । टीकापुर घटना राजनीतिक घटना हो’, उनले भने, ‘सरकारमा नरहँदा टीकापुर घटनाको कुरा उठाउने तर सरकारमा पुगेपछि वास्ता नगर्ने प्रवृत्ति छ ।’

वर्तमान सरकारसँग टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा लिएर प्रतिनिधिसभा सदस्य रेशम चौधरीसहितलाई रिहाइ गर्न माग गरिएको छ । तर सरकारले यो घटनालाई वेवास्ता गरेको थारुले आरोप लगाए ।
‘भर त छैन तर आशा गरौं । यो सरकारले राजनीतिक ढंगबाट समस्या समाधान गरोस्’, उनले भने, ‘अबको तीन महिनाभित्र समस्या समाधान नभए सिंहदरवार घेर्न पुग्छौं ।’
टीकापुर घटना अध्ययनको लागि तत्कालीन सरकारले लाल आयोग गठन गरेको थियो। तर त्यो आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको प्रति थारुले आक्रोश पोखेका छन् । उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न मागसमेत राखे। ‘सरकार लाल आयोगको प्रतिवेदन सिरानीमा राखेर निदाएको छ’, उनले भने, ‘आन्दोलनमार्फत सरकारलाई निद्राबाट बिउँझाउन चाहन्छौं ।’
कुनै शक्ति केन्द्रको आडमा प्रतिवेदन लुकाइएको उनले दावी गरेका छन् । सहज रुपमा टीकापुर घटनालाई समाधान गर्न उनले माग गरे। मंसिरको दोस्रो साताबाट सुरु गर्न थालिएको आन्दोलनलाई अन्य समुदायको साथ रहेको थारुले बताए ।
२०७२ भदौ ७ मा कैलालीको टीकापुर घटनामा परी नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र एक बालकसहित ८ जनाको मृत्यु भएको थियो ।


















