धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको एकीकृत भान्साघरबाट अब करिब चार हजार विद्यार्थीले दैनिक गुणस्तरीय दिवा खाजा पाउने भएका छन् ।
साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्मका २१ सामुदायिक विद्यालयमा यो व्यवस्था लागू हुने भएको हो । हालसम्म अधिकांश विद्यालयले आफ्नै स्तरमा दिवा खाजा तयार गर्दै आएका थिए । अब भने एउटै मापदण्डअनुसार केन्द्रीय भान्साघरमा तयार गरिएको पोषणयुक्त खाजा विद्यालयसम्म पु¥याइने व्यवस्था गरिएको छ । यसबाट खाजाको गुणस्तर, सरसफाइ तथा पोषणमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ ।


उपमहानगरपालिकाका अनुसार ११ वटा आधारभूत र १० वटा माध्यमिक विद्यालयमा बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ७९५ विद्यार्थीले नियमित रूपमा दिवा खाजा प्राप्त गर्नेछन् । वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालय, शान्तिनगरका कक्षा ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई पनि यही भान्साघरबाट खाजा उपलब्ध गराइनेछ ।
धनगढी–७ तिल्केचोकमा निर्माण गरिएको भान्साघरको उद्घाटन शनिबार वडा नम्बर ७ का अध्यक्ष मोति राना थारूले गरेका हुन् । कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको उपस्थिति थियो ।
उपमहानगरपालिकाले ‘फुड फर लाइफ’ संस्थासँगको सहकार्य, विश्व खाद्य कार्यक्रम तथा नेपाल सरकारको सहयोगमा दुई करोड ४५ लाख ३३ हजार २९ रुपैयाँ लागतमा यो परियोजना सञ्चालनमा ल्याएको जनाएको छ । नगर प्रमुख गोपाल हमालका अनुसार पूर्वाधार निर्माण, भान्सा उपकरण, ढुवानीका लागि सवारी साधन, विद्युत् व्यवस्थापन लगायतका कार्यमा रकम खर्च गरिएको छ भने विश्व खाद्य कार्यक्रमबाट करिब ८६ लाख रुपैयाँ बराबरका सामग्री सहयोग प्राप्त भएको छ ।
नेपाल सरकारले दिवा खाजा कार्यक्रमअन्तर्गत प्रति विद्यार्थी दैनिक २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यही रकम विद्यालयमार्फत ‘फुड फर लाइफ’लाई उपलब्ध गराइने व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ । कार्यक्रममा ‘फुड फर लाइफ’का व्यवस्थापन प्रमुख चिरञ्जीवी दाहालले बालबालिकालाई सुरक्षित, स्वस्थ र पोषणयुक्त खाजा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने बताए ।
धनगढी उपमहानगरपालिकाले यस वर्ष २१ विद्यालयबाट सुरु भएको यो प्रणाली आगामी वर्षदेखि पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । शिक्षा र पोषणलाई सँगसँगै अघि बढाउने उद्देश्यले सुरु गरिएको यो अभियान सफल भए विद्यालयस्तरमा दिवा खाजा व्यवस्थापनको नयाँ नमुना बन्न सक्ने अपेक्षा गरिएको छ ।

















