बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित श्रीपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोविन्द प्रसाद सापकोटाले पदबाट राजीनामा दिएका छन्।
शुक्रबार फेसबुकमार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले पछिल्लो समय खानेपानी वितरणलाई लिएर सामाजिक सञ्जालमा भइरहेको आलोचना र प्राविधिक समस्यालाई उल्लेख गर्दै अध्यक्ष पदबाट अलग हुने घोषणा गरेका हुन्।

सापकोटाले आफ्नो दुई वर्षे कार्यकालमा नयाँ पाइपलाइन विस्तार, कार्यालय पुनर्निर्माण, खानेपानीमा नियमित औषधि प्रयोग तथा संस्थामा करिब २५ लाख रुपैयाँ मौज्दात राख्न सफल भएको दाबी गरेका छन्। साथै, पुराना जीर्ण पाइपलाइन र सडक निर्माणका क्रममा जथाभावी पाइप काटिँदा उपभोक्तासम्म स्वच्छ पानी पुर्याउन समस्या भएको उल्लेख गर्दै स्थानीय जनप्रतिनिधिलाई छिटो निकास खोज्न आग्रह गरेका छन्।

यस्तो छ उनको स्ट्याटस
श्रीपुर खानेपानी का सम्पूर्ण उपभोक्ता ज्यु हरु मा नमस्कार
धेरै आसा र भसोसा का साथ मलाई अध्यक्ष को जिम्मेवारी दिनु हुने सम्पूर्ण उपभोक्त ज्यु हरु मा पुनः हृदय देखि नमन गर्दछु । हामी ले आफ्नो लागि त सबैले काम गरिरहेका छौ तर समाज को लागि पनि केही गर्नु पर्छ भन्ने निस्वार्थ मनसाय लिएर म यस श्रीपुर खानेपानी मा आएको थिए तर सोचे जस्तो हुने रहेनछ काम गर्न खोजिएको हो तर मलाई काम गर्ने सिलसिलामा कार्यसमिति बाट कति सहयोग भयो समाज बाट कति सहयोग भयो यो एउटा छलफल को बिषय हुनेछ ।तथापि दुई बर्षे कार्यकालमा श्रीपुर खानेपानी मा केही राम्रा काम भए का छन् खानेपानी को बन्डरि वाल निर्माण भएको छ । रिछाह आम बगैया साईडमा ६किलोमिटरबढि नयाँ पाईप लाईन बिछ्याइएको छ । जिर्ण भएको अफिस पुनर्निर्माण भएको छ ।बर्षै देखि रंगरोगन नगरिएको खानेपानी परिसर पुर्णतः रंरोगन गरिएको छ ।खानेपानी मा नियमित रुप ले ओैषधि हाल्ने गरिएको छ । खानेपानी परिसरमा निर्माण गरिएको शिव जी मूर्ति मा पुजा आजा गर्न जानको लागि पक्की ढलान गरिएको छ।नगद मौज्दात र बैंक मौज्दात गरि अनुमानित रू पच्चिस लाख नगद रुपैया (२५०००००)आज का दिनमा संचित मौज्दात रहेको छ । मलाई जानकारी मा आएको दिन देखि छिटोभन्दा छिटो फुटेको पाईप लाईन मर्मत गरेको छु । मेरो यस दुई बर्षे कार्यकालमा संस्था लाई आर्थिक हानि हुने गरि कुनै काम गरेको छैन ! मिटिङ नास्ता खाना या अन्य कुनै सञ्चार सुबिधा भनेर एक रुपैया लिएको छैन । मैले नसकेको कुरा पुरानो जिर्ण पाईप लाईन जथाभावी जेसिबि ले बाटो खन्दा पाईप लाईन काटिने कारण खानेपानी को टंकी बाट राम्रो पानि छोडे पनि उपभोक्त को घरमा सफा पानी पुर्याउन धेरै कोसिस गर्दा पनि सकिन । तसर्थ यथार्थ स्थलगत अनुगमन नगरी केही समय देखि एकोहोरो धेरै टिका टिप्पणीहरु सामाजिक संजाल मा गरियो । तसर्थ आजका मिति देखि नै मैले अध्यक्ष पद छोड्न चाहेको छु ! अनुकूल बाताबरण सृजन गरिदिनुहुन बेलौरी नगरपालिका बार्ड नम्बर ४बार्ड अध्यक्ष श्री अर्जुन ढकाल र बार्ड नम्बर ६ का वार्ड अध्यक्ष श्री भोजराज चौधरी ज्यु मा सादर अनुरोध गर्दछु कि जनप्रतिनिधि को हैसियत ले हजुरहरु ले छिटोभन्दा छिटो निकास खोजिदिनु होला ! पुनः सम्पूर्ण मा नमस्कार !!
अध्यक्ष श्रीपुर खानेपानी
गोविन्द प्रसाद सापकोटा
















