अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको पाँचै साधारण सभा तथा चौथो चुनावी सभाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिवार संघका अध्यक्ष कल्याण सिंह बोहराको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।
उद्घाटन सत्रका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै उनले विगतका कमी कमजोरीबाट पाठ सिकेर आगामी दिनमा सबै मिलेर जान आग्रह गरे । उनले विगत देखि विभिन्न समूहमा चुनाव लड्दा निर्वाचित पक्षलाई पराजित भएका पक्षले असहयोग गर्ने प्रवृत्ति देखिँदै आएकाले यस्तो नहोस् भन्नका लागि सबै मिलेर जान आग्रह गरे ।


कार्यक्रममा सुदूरपश्चिम उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज कुँवर, कैलाली जिल्ला अध्यक्ष पुष्कर ओझा, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य पदम चौलागाई लगायत विभिन्न संघसस्थाका प्रतिनिधि, उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
उद्घाटन सत्र सकिएपछि अहिले व्यवसायीहरू नयाँ नेतृत्व चयनका लागि बन्द सत्रमा छलफल गरिरहेका छन् ।
सहमति नभए नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन हुने कार्यसूची रहेका छ । यद्यपि चुनावका लागि पहिलो चोटिमा साधारण सभामा ६० प्रतिशत उपस्थिति हुनुपर्ने मापदण्ड रहेको छ ।


















