खाेज्नुहाेस

अनलाइन कक्षा लिन रुखमा टाँड

Image

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षामा सहभागी हुन रुखमा टाँड (बस्ने घर) बनाएका छन् ।

सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा डेरा बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागी भइरहेका छन् । मगरले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदै आएको बताए ।

attariya hospital

विद्यालयले साउन २४ गतेदेखि अनलाइन कक्षाका माध्यमबाट पठनपाठन सुरु गरेको हो । तर, नवलपुर सिम्लेमा मोबाइलको डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन । कमजोर कनेक्सनकै कारण धनकुमार ८÷९ दिनसम्म अनलाइन कक्षमा सहभागी हुन सकेनन् ।

navjiwan hospital

मगर भन्छन्,–‘घरभन्दा माथिको डाँडामा निस्केर प्रयास गरेँ तर मोबाइलको डाटा कनेक्सन राम्रो देखिएन । अनि एउटा रुखको फेदमुनि बसेर चेक गरेँ । त्यहाँ कनेक्सन राम्रो देखायो। रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढेँ। नभन्दै अझ राम्रो कनेक्सन देखायो । अनि जुम मिटिङमा जोडिन सफल भएँ ।’

पढाइ छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोजेर भेट्टाएका हुन् । ‘दिनभरि रुखमा बसेर कक्षामा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ’उनले भने ।

पढाइप्रति मगरले देखाएको लगाव र आकर्षणको निक्कै प्रशंसा भइरहेको छ । रुखमा बनाएको डेरामा पुग्नका लागि घरबाट १० मिनेट उकालो र थोरै तेर्सो हिँड्नुपर्छ । छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले गर्व महसुस गराएको सरस्वती मावि अर्खौलेका निमित्त प्रअ नविन चाम्लिङले बताए ।

सरस्वती माविमा कक्षा ६ देखि कक्षा १० सम्मको पठनपाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ । आउँदो असोज ३ गतेदेखि भने भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्नेगरी हलेसी तुवाचुङ नगरपालिकाले भदौ २२ गते सूचना जारी गरेको छ ।

१६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन् । भाइ नयन कक्षा ८ मा अध्ययनरत छन् । बुवाले अर्को विवाह गरेर छाडेपछि मगर दाजुभाइ आमासँग बसिरहेका छन् ।