हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भुभागस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको महाशाखाले जनाएको छ।


आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आइतबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
सोमबार दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

















