के चाहन्छन अहिलेका युवा ?
अत्तरिया – सामान्य अर्थमा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान अनुरुप वाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगि नसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । युवाको देश विकासका लागि प्रमुख भुमिका हुन्छ । देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत देशको समग्र विकासमा युवाको प्रमुख भूमिका रहने भएको र हुनु पर्ने भएकोले युवा राष्ट्र निर्माणका पूर्वाधार हुन् ।
युवाका राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहक भएपनि नेपालमा युवा शक्तिलाई सहि परिचालन गर्न नसक्दा सोचे अनुसारका उपलब्धि हासिल गर्न सकिएको छैन । स्वयम युवा पनि वर्तमानका साझेदार भएकाले युवाहरुले पनि स्वविबेकले सहि बाटोमा हिड्नु पर्ने अगुवा युवाहरु बताउँन्छन ।
अत्तरिया जेसिज बर्ष २०२० का अध्यक्ष प्रमोद अधिकारीले अहिलेका युवा अरुको झोला मात्रै नबोकेर आफै नेतृत्वमा जान आवश्यक रहेको बताए । नेपालमा युवा अगाडी बढेर धेरै परिवर्तन भएका छन तर, परिवर्तनको उपभोग भने युवाहरुले गर्न पाएका छैनन् उनले भने ‘अब युवाहरु बिभिन्न नारा, जुलुसमा गएर कुट्ने र कुटाई खाने भन्दा पनि निर्णायत तहमा सहभागि हुन आवश्यक छ । अब देशकै नेतृत्वमा युवा आउन आवश्यक छ ।’
त्रिनयन खोज अनेक समितिका अध्यक्ष जय धामीले युवाहरु सहि कार्यदिशा नपाएर भैतारीरहनु परेको बताए । ‘युवा अरुका लागि प्रयोग मात्रै भए’ उनले भने ‘देशको मेरुदण्ड भनेका युवा हुन । त्यसैले आजका युवाहरुलाई उद्यमशिलता संग जोड्नु पर्छ ।’ उनले त्रिनयन खोज अनेकले पनि युवाहरुको क्षमता अभिबृद्धिका लागि बिभिन्न रचनात्मक काम गर्दै आएको बताए ।
त्रिनयन खोज अनेक समितिकाका सचिव मनोज दहालले युवाहरुमा भएको तातो रगत र जोश जागरलाई सहि ठाउँमा प्रयोग गर्न आवश्यक रहेको बताए । उनले देशका लागि युवाहरुका केहि गर्छु भन्ने जोश जागर हुँदा पनि काम गर्न नपाउनु दुःखद भएको बताए ।
हाल ०६८ को जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षका युवावर्गको संख्या ४०.३५ प्रतिशत रहेकोे छ ।
सम्बन्धित समाचार : हातमा सन्देश मुलक पम्पलेट बोकेर मनाइयो अत्तरियामा युवा दिवस