धनगढी – प्रहरी अधिकारीसँग पत्रकार भनी परिचय दिने र अन्यलाई प्रहरी भनी ‘घुस लिने’ कैलालीका एक युवक पक्राउ परेका छन । कैलालीको लम्कीका खेमराज खनाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट पक्राउ गरेको हो ।

प्रहरीसँग भेट्दा घाँटीमा मिडियाको कार्ड र सर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगीको आरोपमा बालाजुबाट पक्राउ परेको परिसरका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

प्रहरीका हाकिमसँग काँध जुधाएर फोटो खिच्दै फेसबुकमा पोष्ट गर्ने खनालले बाँके नेपालगन्जका बसन्त शर्मालाई ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।
पक्राउ परेका खनालले सामाखुसीस्थित एक टेलर्समा आफू प्रहरीको कपडाको ठेक्कापट्टा गर्ने मान्छे भन्दै एकजोर सुटपाइन्ट समेत सिलाएर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।




















