कञ्चनपुर– जिल्लामा रहेको महाकाली प्रादेशीक अस्पतालमा आईसियु सञ्चालनमा आएसँगै सर्पदंशका विरामीहरुको उपचारमा सहजता भएको छ ।
वर्षा सुरु भएसँगै जिल्लामा बढेका सर्पदंशका विरामीहरुलाई यसअघि अन्य स्थानमा रिफर गरिने गरिएकोमा हाल भने अस्पतालले नै विरामीहरुको उपचार गर्दै आईरहेको छ ।

अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म १ सय ३५ जना सर्प दंशका बिरामीहरू उपचारका लागि आएका थिए । अस्पतालको ईमेरजन्सी वाडमा भर्ना भएका तिमध्ये ७८ जना विषालु सर्पले टोकेका गम्भीर प्रकृतिका बिरामीहरु रहेको अस्पतालले जनाएको छ ।

भर्ना भएका ५७ जना बिरामी भने कतै सर्पले टोक्यो कि भन्ने आशङ्काको आधारमा उपचारका लागि आएका थिए । विषालु सर्पले टोकेका बिरामीहरूलाई श्वास प्रश्वास प्रणालीमा समस्या हुने भएकाले तुरुन्त आई.सी.यु मा राख्नुपर्ने हुन्छ ।
विगतका वर्षहरूमा सर्पदशंका बिरामीहरूको उपचार गर्न पर्याप्त स्रोत र साधन नहुँदा जिल्ला बाहिर रिफर गर्ने गरिए पनि हाल भने महाकाली अस्पतालमा आई.सी.यु सेवा सुचारु भएकाले सर्प दंशका बिरामीहरूलाई उपचार गर्न निक्कै सहज भएको महाकाली प्रादेशिक अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताए ।
उपचारमा सहजता भएकै कारण यो बर्ष सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या शुन्य रहेको भट्टको भनाई छ । महाकाली प्रादेशिक अस्पतालमा असार १ देखि साउन १४ गते सम्मको तथ्याङ्क अनुसार ४१ जना सर्प दंशका बिरामीहरू आई.सी.यु मा भर्ना भएका थिए । जसमध्ये १८ जना पुरुष र २३ जना महिला रहेका छन् । ती मध्ये २३ जनालाई विषालु सर्पले टोकेको थियो ।
उनीहरूको एन्टिईस्नेकभेनम इन्जेक्सन अथवा (सर्पको बिषमार्ने औषधी) को प्रयोग मार्फत उपचार भएको थियो । ती बिरामी मध्ये ९ जनाको भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालमा कार्यरत इमरजेन्सी फिजिसियन डाक्टर अर्जुन भट्टले बताए ।
उनले बर्षातको समयमा सर्पदशंका बिरामी बढ्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरे । सर्पको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, घर भित्र रहेका दुलाहरु टाल्ने, खेतबारीमा जाँदा बुट लगाएर जाने जस्ता उपाय अपनाउनु पर्ने डा. भट्टको सुझाव छ ।



















