खाेज्नुहाेस

बझाङमा गोलभेँडाले मूल्य नपाउदा कृषक मर्कामा

Image

रमेश बहादुर सिह/बझाङ– बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष बझाङमा उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन । गत वर्ष यही समय प्रतिकिलो रु. ६० मा बिक्री भएको गोलभेँडा यसपालि प्रतिकिलो रु. ३० देखि ४० मा बिक्री भइरहेको छ ।

गोलभेँडाको अत्यधिक उत्पादन हुने जिल्लाको कैलाश र खप्तड छान्ना गाउँपालिकाका कृषकले यस वर्ष उचित मूल्य प्राप्त गर्न नसकेका हुन् । कोभिड–१९ संक्रमणको महामारी तथा बन्दाबन्दीका कारण बजार प्रभावित हुनुका साथै अत्यधिक वर्षा हुँदा गुणस्तरीय गोलभेँडा उत्पादन नहुँदा मूल्यमा ह्रास आएको हो । गोलभेँडाले गत वर्षको भन्दा कम मात्रै मूल्य पाएपछि कृषक मर्कामा परेका हुन् ।

attariya hospital

‘पोहोर साल प्रतिकिलो रु. ६० भन्दा कम मूल्यमा बेच्नुपरेको थिएन’ कैलाश –१ का गोलभेँडा उत्पादक कृषक सुर्य खड्काले भने ‘यसपालि त रु. ३०÷४० मा बेच्न पनि कठिन पर्यो ।’

बन्दाबन्दीका कारण गोलभेँडाको बिक्रीमा व्यापारीबीच प्रतिस्पर्धा नहुँदा उचित मूल्य पाउन नसकेको कृषक सुर्य खड्काको भनाइ छ । ‘हामी कृषक आफैँले बजार पुर्याएर बिक्री गर्न सक्ने अवस्था पनि छैन’ खड्काले भने, ‘निषेधाज्ञाका कारण समयमा व्यापारी नआउँदा कति टमाटर त कुहिएर गयो ।’

१० रोपनी खेतमा बर्खे गोलभेँडा लगाएका खड्काले कम्तीमा रु. १ लाख आम्दानी गर्ने सोच बनाएका थिए । ‘अघिल्ला वर्षहरुमा रु. १ लाख ६० हजारसम्म आम्दानी गरेको थिए’ उनले भने, ‘यसपालि त साँवा नै उठेन ।’

navjiwan hospital

यस वर्ष गोलभेँडाको मूल्य निकै कम हुँदा सबै जना किसानहरु मारमा परेका उनले बताए । कोभिड–१९ को महामारीका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य बढेकै समयमा आफूहरुको उत्पादनले मूल्य नपाउँदा समस्या परेको कृषक भुवन खड्काको भनाइ छ ।

‘पहिले किन्नुपर्ने सामानको मूल्य सस्तो थियो । तर यसपालि बढेकै बेला हाम्रो उत्पादनले मूल्य पाएन’ खड्काले भने, ‘पानी धेरै पर्नाले टमाटर कुहिएर जाने समस्या पनि देखियो ।’ गोलभेँडा पाकेर झर्न लागेपछि टिपेर राखे पनि समयमा व्यापारी नआउँदा त्यसै खेर फाल्नुपरेको उनको गुनासो छ ।

पाँच रोपनी खेतमा लगाइएको गोलभेँडाबाट कम्तीमा रु. ५० हजार आम्दानी गर्ने लक्ष्य बनाएकी खप्तड छान्ना – २ कि रिता रावल रु. १२ हजार पनि आम्दानी नहुँदा निराश छन् । ‘बिक्री गरिसक्न लागेँ । तर यसपालि टमाटरसँग धेरै आश छैन’ रावलले भनीन, ‘यसपालि प्रकृतिले नै धोका दियो ।’

गोलभेँडाका स्थानीय व्यापारीसमेत रहेका कैलाशका डम्बर बहादुर सिँहले गोलभेँडाले उचित मूल्य पाउन नसक्नुका धेरै कारण रहेको बताएका छन । एकै बोटमा धेरै गोलभेँडा फल्नाले गुणस्तर नहुने, गोलभेँडाको आकारले समेत मूल्यमा फरक पार्ने तथा विषादीको अनियन्त्रित प्रयोगले गुणस्तरमा ह्रास आई उचित मूल्य प्राप्त नभएको सिहँको भनाइ छ ।

‘एउटा बोटमा कति टमाटर फलाउँदासम्म गुणस्तरीय हुन्छ भन्नेदेखि कुन आकारमा फलाउनेसम्मका कुरा टमाटरमा जोडिन्छनन’ सिँहले भने, ‘मुख्य बजारमा गाउघरको भन्दा बाहिरी जिल्लाको टमाटरको खपत बढी हुनाले समेत हाम्रो टमाटरको मूल्य कम हुन गएको हो ।’
धेरै फलाउने प्रतिस्पर्धामा कृषकले प्राविधिक सल्लाहबिना विषादीको प्रयोग गर्नाले बर्सेनि गोलभेँडाको मूल्यमा ह्रास आइरहेको र उपभोक्ताले नरुचाएको सिँहको भनाइ छ ।

यहाँ उत्पादित गोलभेँडाको मुख्य बजार ढुवानी खर्च, कुहिने तथा बिग्रने गोलभेँडा छुट्याउनु पर्नाले कृषकले प्राप्त गर्ने मूल्य र बजार मूल्यमा न्यूनतम प्रतिकिलो रु. १० अन्तर आउने गरेको छ ।

जयपृथ्वी नगरपालिकाका अधिकांश कृषकले गोलभेँडा खेतीबाट प्रशस्तै आम्दानी गर्दै आएका थिए । यस वर्ष मूल्यमा आएको ह्रासले कृषक मारमा परेका छन् । जिल्लामा करिब एक हजार परिवार कृषकले गोलभेँडा खेती गर्दै आएका छन् ।