अत्तरिया – अत्तरियाबाट हराएको मोटरसाइकल ४ दिन पछि फेला परेको छ । असार ३१ गते राती १० बजे अत्तरियाको धनगढी रोडमा रहेको एस क्याफे अगाडीबाट हराएको मोटरसाइकल आईतबार प्रहरीले फेला पारेको हो ।
सुपप्र ०१०० ८ प ४०९२ नम्बरको उक्त मोटरसाइकल गोदावरी नगरपालिका– २ तेघरीमा बेवारिसे अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।


उक्त मोटरसाइकल प्रहरीले सवारी धनी गोदावरी नगरपालिका – १ का शंकर दत्त पन्तलाई बुझाएको छ । पन्तले मोटरसाइकल हराएकै दिन खोज तलासी गरी पाउँ भनी प्रहरीमा निवेदन दिएका थिए ।
पछिल्लो समय अत्तरियामा मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ । रातिको समयमा घरमै राखेका मोटरसाइकल पनि चोरी हुन थालेका छन । एक पछि अर्को मोटरसाइकल चोरीका घटना बाहिर आउन थालेपछि यस क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह नै सक्रिय रहेको आशंका गरिन थालिएको छ ।



















