काठमाडौं– देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभागनजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिनयता देशका अघिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले विगत तीन दिनदेखि देशभर सामान्यदेखि पूर्णबदली रहनाका साथै सबैजसो भूभागमा हल्कादेखि मध्यम तथा केही क्षेत्रमा भारी वर्षा भएको छ ।
मनसुनी वायुको प्रभाव कहिलेसम्म रहन्छ भन्ने यकिन जवाफ मौसमविद्सँग पनि छैन । केही दिनदेखिको निरन्तर वर्षा र बदलीले देशका कतिपय क्षेत्रमा प्राकृतिक विपत्ति तथा मानवीय क्षतिका दुःखद् घटना पनि भए । पछिल्लो तीन दिन लगातार बदली र वर्षा भयो कतिपय क्षेत्रमा भारी वर्षासमेत भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले अघिल्ला दिनको तुलनामा मनसुनी वायुको कम प्रभाव रहने तर मनसुनी वायुको प्रभाव कमजोर मात्रामा भए पनि केही दिन रहिरहने बताइन् ।

उनले भनिन्, ’मनसुनी वायुको सक्रिय प्रभावले तीन दिनयता निरन्तर वर्षा र कतिपय स्थानभा भारी वर्षासमेत भएको छ, अबका दिनमा पनि मौसममा कहिले सुधार आउँछ भनेर यकिन भन्न सकिने अवस्था नरहेको र अघिल्ला दिनको तुलनामा मनसुनको कम प्रभाव हुने विश्लेषण गरिएको छ ।’
मौसमविद् पोखरेलले मनसुनको कम प्रभाव रहे पनि अझै देशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइन् । अबका दिनमा दिउँसो र साँझपख मौसम खुले पनि खण्डित रूपमा पुनः बदली र वर्षाको सम्भावन रहिरहन्छ ।
काठमाडौं उपत्यकाको हकमा विगत तीन दिनदेखि आंशिकदेखि पूर्ण बदली र हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाको विवरणअनुसार आज काठमाडौंमा ६६ मिलिमिटर वर्षा भएको छ । हिजो शुक्रबार ४६ मिलिमिटर वर्षा भएको थियो। सबैभन्दा धेरै सिमरामा १५३, विराटनगरमा १०७, जनकपुरमा ८५, ताप्लेजुङमा ५८, भैरहवामा ५३ र पोखरामा ५५ मिलिमिटर वर्षा भएको छ ।
आज काठमाडौंको अधिकतम २३.४ र न्यूनतम तापक्रम १९.८ डिग्री सेल्सियस रहेको छ। अहिले प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहिरहनुका साथै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ ।




















