बझाङ – बझाङको जयपृथ्वी नगरपालिका–स्थित चैनपुर बजारमा सुर्मादेवी मेला २०८३ को अवसरमा प्रदेशस्तरीय पालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
‘खेलकुद, संस्कृति र पर्यटनको संगम’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिता कार्तिक ९ गतेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक पालिकास्तरीय महिला तथा पुरुष भलिबल टोलीलाई दर्ता गर्न आयोजकले आह्वान गरेको छ।


प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले २ लाख ११ हजार ९८३ रुपैयाँ, द्वितीय हुनेले १ लाख ११ हजार ९८३ रुपैयाँ र तृतीय हुनेले ५९ हजार ९८३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। पुरुष टोलीका लागि दर्ता शुल्क ११ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, महिलातर्फ प्रथम हुने टोलीले ६९ हजार ९८३ रुपैयाँ, द्वितीय हुनेले ४९ हजार ९८३ रुपैयाँ र तृतीय हुनेले २९ हजार ९८३ रुपैयाँ पुरस्कार पाउनेछन्। महिला टोलीको दर्ता शुल्क ४ हजार रुपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगिताको आयोजना संयोजक सर्जन थापा तथा श्री सुर्मादेवी मेला व्यवस्थापन समितिले गर्न लागेको हो। जयपृथ्वी नगरपालिका, बझाङमा आयोजना हुने मेलाले खेलकुदसँगै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजकले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण खेलाडी तथा खेलप्रेमीलाई प्रतियोगितामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

















