महेन्द्रनगर – दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कञ्चनपुरका ८ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । भीमदत्त नगरपालिकाको गड्डाचौकी, बसपार्क र ब्रह्मदेव, दोधारा चाँदनी नगरपालिकाको बाबाथान, शुक्लाफाँटा नगरपालिकाको झलारी बजार, कृष्णपुरको गुलरिया चौराहा, बेलौरीको बसपार्क र पुनर्वासको डोके बजारमा सहायता कक्ष स्थापना गरिएको हो ।

भारत लगायत विभिन्न देशबाट चाडपर्व मनाउन घर फर्किने नेपाली यात्रुलाई सहजता र सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सहायता कक्ष स्थापना गरेका छन ।

कञ्चनपुर प्रहरी प्रमुख नेत्रमणि गिरीले चाडपर्वका बेला सीमा तथा बजार क्षेत्रमा यात्रुको चाप बढ्ने भएकाले यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।
उनले यात्रु सहायता कक्षमा कुनै समस्या परे तत्काल प्रहरीलाई जानकारी गराउन सकिने व्यवस्था मिलाइएको बताए । सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना तथा सुरक्षा प्रदान गर्नुका साथै समस्या परे तत्काल सम्बन्धित निकायसँग समन्वय गरी सहयोग गरिने प्रहरीले जनाएको छ ।

















