अत्तरिया – कुनै समय आधारभूत तहमा विद्यार्थी पाउन धौ–धौ हुने दुर्गालक्ष्मी नमुना माविमा अहिले विद्यार्थीको अत्यधिक चाप बढेको छ । आधारभूत तहको छुटै संरचनामा शैक्षिक सुधार सँगै अत्याधुनिक सेवा सुविधा विस्तार गरेपछि अहिले विद्यार्थीको चाप ५ गुणा बढेको छ । चालु शैक्षिक सत्रमा अत्यधिक विद्यार्थी भर्ना हुन आएपछि विद्यालयले विद्यार्थीको चाप धान्न नसकेर फकाउनु नै परेको थियो । आधारभूत तहमा हाल कुनै महँगो शुल्क लिने निजी विद्यालयको भन्दा स्तरीय सेवा सुविधा रहेको छ । जुन निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ ।
विद्यालयका प्रधानाध्यापक वीर सिंह महताले निमावि, मावि तहमा धेरै विद्यार्थी भए पनि आधारभूत तहमा कम विद्यार्थी हुँदा विद्यालयको जग कमजोर भएको महसुस गरेर हाल सम्पूर्ण ध्यान आधारभूत तहमा लगाएको बताए ।

उनले यसअघि कक्षा १२ सम्म करिब ४ हजार विद्यार्थी भए पनि आधारभूत तहमा (बाल विकास– देखि कक्षा ५) अढाई सय मात्रै विद्यार्थी रहेका थिए । पछिल्लो समय आधारभूत तहमा सुधार गरेपछि चालु शैक्षिक सत्रमा आधारभूत तहमा ६ सय विद्यार्थी पुगेको उनले बताए ।
विद्यालयको जगबाटै बलियो बनाउन चालु शैक्षिक सत्रमा बाल विकासमा मात्रै १ सय विद्यार्थी भर्ना गरिएको उनले बताए । ‘अघिल्लो वर्ष बाल विकासमा २२ जना मात्रै विद्यार्थी थिए’ उनले भने ‘चालु शैक्षिक सत्रमा ५ गुणा विद्यार्थी बढेर १ सय जना पुगेका छन् ।’
उनले हाल सबैभन्दा बढी विद्यालयले फोकस गरेको तह नै आधारभूत तह भएको बताए । ‘यहाँ गरिबका छोराछोरी पढ्छन् । यहाँ कुनै पनि प्रकारको शुल्क हुँदैन’ उनले भने ‘आधारभूत तहमा हामीले स्विमिङ पुल देखि लिएर, एसी रुम, प्ले स्टेसन सम्मका सम्पूर्ण सुविधा दिएका छौ ।’

उनले आधारभूत तहमा विद्यार्थीको उपस्थिति पनि ९८ प्रतिशत हुने गरेको बताए । ‘अहिले अभिभावक भेट्न आउँदा पनि शनिवार, आइतबार पनि विद्यालय सञ्चालन गरिदिनुप¥यो भन्नुहुन्छ’ उनले भने ‘बच्चाहरू घरमा शनिवार, आइतबार पनि बस्न मान्दैनन् भन्छन् । हामी स्कुल जान्छौ भन्छन् रे, किनकि विद्यार्थीहरूले यहाँ रमाइलो खेल खेल्न पाउने, स्विमिङ गर्न पाउने, चिसोमा बस्न पाउने, पढाई गर्दा पनि खेलका माध्यमबाट खेलाएर गरिने भएकाले विद्यार्थीको एकदमै आकर्षण बढेको छ ।’
आधारभूत तहमा हाल एउटै कक्षालाई २ सेक्सनसम्म विभाजित गरेर अध्यापन गराइँदै आएको छ भने बाल विकासमा एकै पटक २÷२ जना शिक्षक अध्यापन गराउँदै आएका छन् ।
प्रधानाध्यापक महताले एक जना विद्यालयको शिक्षक र एक जना दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सँग गरिएको सम्झौता अनुसार उपलब्ध शिक्षकबाट अध्यापन गराइँदै आएको बताए । प्रत्येक कक्षाकोठामा सिसिटिभी पनि जडान गरिएको छ । जसको प्रधानाध्यापकले कार्यालयबाट नियमित अनुगमन समेत गर्ने गरेका छन् । आधारभूत तहमा सरकारबाट उपलब्ध हुने निःशुल्क दिवा खाजाको पनि व्यवस्था रहेको छ । निजी विद्यालय भन्दा स्तरीय सुविधा र गुणस्तरिय शिक्षा प्रदान गर्न थालिएपछि आधारभूत तहमा आगामी दिनमा विद्यार्थीको चाप धान्नै समस्या हुने अवस्था देखिएको प्रधानाध्यापक महताले बताए ।
उनले यसै शैक्षिक सत्रबाट अभिभावकको विश्वास बढाउन आफूले पनि आफ्ना २ छोराछोरीलाई आधारभूत तहमा भर्ना गरेको बताउँदै हाल अभिभावकको विश्वासले विद्यालयमा विद्यार्थीको संख्या उल्लेख्य बढेको बताए । उनले आफू सरकारी विद्यालयमा बढाउने तर आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाउने प्रचलन तोड्दै दुर्गालक्ष्मीका धेरै शिक्षकका छोरा छोरी दुर्गालक्ष्मीमै अध्ययन गर्दै आएको बताए ।
विद्यालयका अध्यक्ष हरि भट्टराईले कक्षा ८, १० र १२ मा राम्रो नतिजा आए पनि आफ्ना विद्यालयको आधारभूत तहबाटै अध्ययन गरेका विद्यार्थी थोरै हुने भएकाले आफू अध्यक्ष भए पनि आधारभूत तहमै बढी जोड दिएको बताए । हाल आधारभूत तहमा धेरै सुधार भएको बताउँदै आगामी दिनमा यसलाई थप सुधार र विस्तार गर्दै दुर्गालक्ष्मी नमुना माविलाई जगबाटै बलियो बनाउने योजना रहेको बताए ।
उनले विद्यालयको समग्र नजिता सुधार गर्दै हरेक तहमा ८० देखि ९० भन्दा बढी प्रतिशत नतिजा निकाल्ने गरी हाल शैक्षिक क्रियाकलाप सञ्चालन भइरहेको बताए ।















