कञ्चनपुर – चाडपर्वको समयमा यात्रु तथा नागरिकलाई सहज, सुरक्षित र आवश्यक सूचना उपलब्ध गराउने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बसपार्कमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालयको पहलमा स्थापना गरिएको सहायता कक्षको आज एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो। कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरी, यातायात व्यवसायी तथा स्थानीयको सहभागिता रहेको थियो।


चाडपर्वका बेला यात्रुको चाप बढ्ने तथा यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने भएकाले यात्रुलाई आवश्यक सूचना, सुरक्षा तथा सहजीकरण प्रदान गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ ।
सहायता कक्षबाट यात्रुलाई सार्वजनिक यातायातको अवस्था, गन्तव्यसम्म पुग्ने जानकारी, यात्राका क्रममा आइपर्ने समस्या तथा गुनासोका विषयमा आवश्यक सहजीकरण गरिने जनाइएको छ।
आजै अत्तरिया बसपार्कमा पनि यात्रु सहायता कक्ष स्थापना गरिएको थियो। दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै यात्रुको चाप बढी हुने विभिन्न बसपार्क तथा मुख्य यातायात केन्द्रहरूमा यस्ता सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याउने क्रम अघि बढाइएको छ।

















