अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको अत्तरिया कृषि सहकारी संस्था लि. को साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच सहकारी संस्थाको ११औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष देव बहादुर साउँदको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– १ का वडासदस्य तथा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव गम्भीर साउँद रहेका थिए ।

कार्यक्रममा बोल्दै साउँदले संस्थाले छोटो समयमा नै उल्लेखनिय प्रगती गरेको बताए । उनले संस्थाले कृषि क्षेत्रमा राम्रो काम गरिरहेको बताउदै कृषि तथा व्यापार व्यवसाय गर्न चाहने र गरिरहेका शेयर सदस्यहरुलाई सहुलियतमा ऋण प्रवाह गरिरहेको बताए ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष साउँदले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक नन्दराज भट्टले प्रस्तुत गरेका थिए ।
७ करोडको कारोबार, १६ लाख नाफा
संस्थाले आर्थिक वर्ष २०८२/०८३ को असार मसान्त सम्म ७ करोड बढीको कारोबार गरेको छ । साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा ७ करोड १६ लाख ६६ हजार ४३३ रुपैया बराबरको कारोबार गरेको छ । सो कारोबारबाट संस्थाले १६ लाख ८ हजार ९९ रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाकी प्रबन्धक सक्रान्ती भट्टले सो नाफाको रकममध्ये ४ लाख २ हजार २४ रुपैया संस्थाको जगेडा कोषमा राखिएको बताईन । उनले त्यसबाहेक संरक्षित पुुँजी फिर्ता कोष, सहकारी प्रर्वद्धन कोष, शेयर लाभांश कोष, सहकारी विकास कोष, विपद् व्यवस्थापन कोष, घाटा पुर्ति कोष लगायतका कोषहरुमा पनि नाफाको निश्चित प्रतिशत रकम जम्मा गरिएको बताईन । उनले संस्थाले १ जना शेयरसदस्यलाई सुत्केरी प्रोत्साहन स्वरुप नवजात शिशुको निःशूल्क बालबचत खाता खोली १ हजार ५०० रुपैया खातामा जम्मा गर्ने, संस्थाका शेयरसदस्यको मृत्यु भएका ३ वटा घरपरिवारलाई दाहसंस्कार स्वरुप ५ हजार नगद दिने लगायतका कार्यहरु गर्दै आएको बताईन ।
उनका अनुसार संस्थाले सदस्यहरुलाई कृषि, पशुपालन र व्यापार व्यवसायमा जोड्नका लागि ९.५ देखी १० प्रतिशत सम्म ब्याजदरमा धितोमा बढीमा १५ लाख सम्म ऋण लगानी गर्दै आएको छ । त्यस्तै नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष काठमाण्डौबाट ४० लाख सहुलियत कर्जाको सम्झौता गरी संस्थाका सदस्यहरुलाई साना व्यापार, कृषि, पशुपालन व्यवसाय गर्नका लागि ८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिएको प्रबन्धक भट्टको भनाई छ ।
२०७३ साल पौषमा ३३ जना शेयरसदस्यहरुको ५ लाख ४० हजार शेयरपुँजीबाट सुरु भएको संस्थाले आफ्नो शेयरपुँजी र सदस्यसंख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को असार मसान्त सम्म संस्थामा ८५५ जना सेयर सदस्य संख्या पुगेका छन भने संस्थाको कुल शेयर पूंजी ८९ लाख ५० हजार ९०० रहेको छ ।
विभिन्न व्यक्तित्व सम्मानित
यसैबिच संस्थाको साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । संस्थालाई अगाडी बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण व्यक्तित्वहरुका साथै अन्य विभिन्न शिर्षकमा संस्थाले शेयरसदस्यहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेमा उत्कृष्ट बचतकर्तामा पवन देवी रावल र सनेश कुमार दाहाल, उत्कृष्ट ऋणी सदस्यमा ममता कुमारी शर्मा र सुरेश नेपाली, उत्कृष्ट बालबचतकर्तामा आँचल अधिकारी र शासन भट्ट सम्मानित भएका छन् ।
यस्तै ज्येष्ठ नागरिक सम्मानमा राम प्रसाद रिजाल, उत्कृष्ट शैक्षिक पुरस्कार अन्तरगत +२ को पुरस्कार आशिष उपाध्याय, एसईईको पुरस्कार खेम बहादुर महत र कक्षा ८ को पुरस्कार रचना थापाले प्राप्त गरेका छन् । उनिहरुलाई नगद रु. ३ हजार ५०० मा १५ प्रतिशत कर कट्टी गरी २ हजार ९७५ रुपैया र प्रमाण पत्र प्रदान गरिएको थियो ।
















