कञ्चनपुर – भोटेकोशी बाढीमा बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीका प्रेमप्रकाश जोशीको सोमबार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।

रसुवाको त्रिशूली १ २१६ मेघावाट जलविद्युत आयोजनामा इलेक्ट्रिसियनको काम गर्ने जोशी बाढी आएको दिन भदौ १० देखि सम्पर्कविहीन छन् । परिवारले उनको खोजीका लागि प्रयास गरे पनि कुनै सम्पर्क हुन सकेन । पछिल्लो पटक डिएनए परीक्षणका लागि नमुना समेत दिएका थिए ।

डिएनएको पनि कुनै नतिजा नआएपछि अन्तिम संस्कार गर्ने निर्णयमा पुगेको जोशीका भाई योगेन्द्रले बताए ।
भीमदत्त–९ ब्रहृमदेव नजिकै महाकाली नदी किनारमा जोशीको अन्त्येष्टि गरिएको हो । जोशी एक दशकअघि कामको खोजीमा रसुवा पुगेका थिए । उनले ७ वर्ष रसुवागढी हाइड्रोपावरमा काम गरेका थिए । त्यसपछि ३ वर्षदेखि उनी त्रिशूली २१६ मा काम गरिरहेका थिए ।

















