धनगढी – दार्चुलाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले विस्थापित र जोखिममा परेका परिवारलाई तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न माग गरिएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ परिवार बिस्थापित भएको र २५ परिवार उच्च जोखिममा परेको भन्दै तत्काल पुनःस्थापनाको व्यवस्था गर्न माग गरेको हो ।
एमाले संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बाढी–पहिरोका कारण मडगाउँमा ७ घरधुरी विस्थापित र २५ घरधुरी उच्च जोखिममा परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।


रावलले बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा उपचारको व्यवस्था गर्न, प्रभावितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न र राहत सामग्री उपलब्ध गराउन संघीय, प्रदेश तथा स्थानीय सरकार एवं सम्बन्धित सुरक्षा निकायलाई आग्रह गरेका छन् ।
विशेषगरी जोखिममा रहेका घरधुरीको तत्काल पहिचान गरी सम्भावित थप क्षति रोक्न आवश्यक पूर्वतयारी गर्नुपर्नेमा उनले जोड दिएका छन् । अवरुद्ध ग्रामीण सडक तथा विद्युत÷सञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउन तथा प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, औषधि र पुनःस्थापनाको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
विपद्को समयमा सबै राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट उद्धार तथा राहत कार्यमा सहयोग गर्नसमेत रावलले अपिल गरेका छन् । प्रेस विज्ञप्तिमा विपद्को समयमा राज्यका सबै संयन्त्र परिचालन गरी प्रभावित नागरिकको जीवनरक्षा र तत्काल राहतलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ ।


















