खाेज्नुहाेस

स्मार्ट चश्मा ल्याउँदै गूगल, के छन् विशेषताहरू ?

Image
file photo

प्रविधि क्षेत्रको दिग्गज कम्पनी गूगलले १० वर्षअघिको ‘गूगल ग्लास’ को असफलतालाई बिर्साउने गरी नयाँ स्मार्ट चश्मा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो वार्षिक विकासकर्ता सम्मेलनमा नयाँ पुस्ताको स्मार्ट चश्माको झलक प्रस्तुत गरेको हो ।

आगामी शरद ऋतुबाट बिक्री सुरु हुने यो चश्मामा गूगलको अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली ‘जेमिनी’ जडान गरिएको छ । गूगलका कार्यकारी शाहराम इजादीका अनुसार यो चश्माको फ्रेममा सानो क्यामेरा र डन्डीमा साना स्पिकरहरू राखिएका छन् । यसको मुख्य उद्देश्य प्रयोगकर्तालाई फोन ननिकालिकन ‘ह्यान्ड्स–फ्री’ रूपमा जेमिनी एआईसँग कुराकानी गर्न र जानकारी लिन सघाउनु हो ।

attariya hospital
navjiwan hospital

यो चश्माले एन्ड्रोइड र एप्पलको आईओएस दुवै उपकरणहरूमा काम गर्नेछ । सुरुवाती चरणमा यो चश्मा अडियोमा आधारित हुनेछ, जसमा प्रयोगकर्ताले कानमा जानकारी सुन्न सक्नेछन् । यद्यपि, गूगलले भविष्यमा चश्माकै लेन्समा अक्षर र जानकारी देखिने संस्करण पनि ल्याउने तयारी गरिरहेको जनाएको छ ।

गूगलले यो चश्मालाई स्टाइलिस बनाउन चश्मा उत्पादक कम्पनी ‘वारबी पार्कर’ र ‘जेन्टल मन्स्टर’ सँग सहकार्य गरेको छ । यसअघिको गूगल ग्लास यसको अनौठो डिजाइन र महँगो मूल्यका कारण लोकप्रिय हुन सकेको थिएन ।

सन् २०१३ मा सार्वजनिक भएको गूगल ग्लास गोपनीयता र मूल्यका कारण सन् २०१५ मा बजारबाट हटाइएको थियो । अहिले मेटाको स्मार्ट चश्माले बजारमा राम्रो उपस्थिति जनाए पनि, अरूलाई थाहै नदिई भिडियो खिचिने भन्दै पुनः गोपनीयताको बहस सुरु भएको छ । गूगलको नयाँ चश्मामा पनि यस्तै खालका चुनौतीहरू आउन सक्ने विज्ञहरू बताउँछन् ।