धनगढी – विस्तृत अध्ययन सम्पन्न भएर निजी क्षेत्रले उत्खननको लाइसेन्स प्राप्त गरे पनि खानी सञ्चालन हुन नसकेको भन्दै बैतडीका नागरिक अगुवाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । बैतडीमा सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुंगा, फलाम तथा कृषि मलमा प्रयोग हुने फस्फोराइट खानी रहेका छन् ।
बुधबार उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, नागरिक अगुवा तथा बुद्धिजीवीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य सङ्घ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले जानकारी दिए । उनले वर्तमान सरकारले बैतडीवासीको माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

ज्ञापनपत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि विस्तृत अध्ययन सम्पन्न भई निजी क्षेत्र उत्खननका लागि तयार भए पनि विभिन्न सरकारी निकायमा फाइल अड्किएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सामाजिक अभियन्ता महेशदत्त भट्टले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको पहलमा २०७८ सालमा गरिएको विस्तृत अध्ययनपछि बैतडीको दोगडाकेदार र सुर्नया गाउँपालिकाको सीमास्थित धर्मधर क्षेत्रमा रहेको चुनढुंगा खानी उत्खनन गर्न आईएई ग्रुपले अनुमति पाएको छ ।

कम्पनीका प्राविधिक प्रेम खड्काका अनुसार ३० अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालन गर्ने तयारी भइरहेको छ । खानी उत्खननका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि खानीमुनि सडक क्षेत्र परेकाले सडक विभागसँग राय माग गरिएको उनले बताए ।
केही समयअघि उक्त फाइल विभागबाट बैतडी आइपुगेपछि स्थलगत अध्ययन गरिएको सडक डिभिजन कार्यालयका प्राविधिक इन्जिनियर प्रदीप भट्टले जानकारी दिए । उनका अनुसार सडक विभागले पुनः अध्ययन गरेर प्रतिवेदन पठाउन भनेकाले सोहीअनुसार काम भइरहेको छ ।
त्यसैगरी दोगडाकेदारमा रहेको फस्फोराइट खानी उत्खननका लागि छ वर्षअघि भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्काको नेतृत्वमा १५ सदस्यीय टोलीले ५५ दिनसम्म ड्रिलिङ गरी अध्ययन गरेको थियो । अध्ययनले नेपालमै कृषि मल उत्पादनको सम्भावना औँल्याए पनि त्यसपछि खानी उत्खननको काम अघि नबढेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।
बैतडीमा तीन वटा खानीको प्रचुर सम्भावना भए पनि सञ्चालन हुन नसकेको पूर्वजिविस सभापति नरबहादुर चन्दले बताए । उनका अनुसार चमेलिया नदी क्षेत्रमा सुन र युरेनियमको सम्भावना समेत पहिचान गरिएको थियो ।
जिल्लाको पुर्चौडी नगरपालिकाको मल्लादेहीस्थित कालीढुंगा क्षेत्रमा ४० वर्षअघि स्थानीयले फलाम उत्खनन गरेका चार सयभन्दा बढी खाडल अहिले पनि देख्न सकिने स्थानीयको भनाइ छ । त्यहाँको फलाम खानी द्वन्द्वकालमा बन्द भएको बताइएको छ ।


















