धनगढी – नेपाल मेडिकल काउन्सिलको एक टोलीले कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा सञ्चालित डेन्टल क्लिनिकहरूको आकस्मिक अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश क्लिनिकहरू मापदण्ड विपरीत, बिना चिकित्सक र स्वास्थ्य कार्यालयमा दर्ता नभई सञ्चालन भइरहेको पाइएको छ ।
काउन्सिलका सदस्य डा अजय कुमार शाहको नेतृत्वमा आएको विज्ञहरूको टोलीले मंगलबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म गुलरिया, झलारी र महेन्द्रनगरका क्लिनिकहरूको स्थलगत निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा गुलरियास्थित स्टार डेन्टल क्लिनिकमा गम्भीर लापरबाही भेटिएको छ । सो क्लिनिक स्वास्थ्य कार्यालयमा दर्ता नभएको र कुनै पनि शैक्षिक योग्यता नभएका व्यक्तिले बिरामीको उपचार गरिरहेको फेला परेको छ । चिकित्सक नराखी आफैले उपचार गर्ने गरेको पाइएपछि प्रहरीको रोहबरमा उक्त क्लिनिक बन्द गराइएको छ ।

त्यसैगरी, झलारीको यूएस डेन्टल क्लिनिक, न्यु शाही पन्चकोशी डेन्टल क्लिनिक र महेन्द्रनगरको शाही पन्चकोशी डेन्टल क्लिनिकमा पनि चिकित्सकको अनुपस्थितिमा गैर–कानुनी रूपमा उपचार हुने गरेको र ती क्लिनिकहरू जनस्वास्थ्यमा दर्ता नभएको प्रतिवेदनमा उल्लेख छ ।
महेन्द्रनगरस्थित यूएन डेन्टल क्लिनिकमा कागजातमा चिकित्सकको नाम राखिए पनि विगत २ वर्षदेखि कुनै पनि चिकित्सक कार्यरत नरहेको र क्लिनिक सञ्चालक आफैले उपचार गर्ने गरेको पाइएको छ। यस्तै, न्यु विष्ट डेन्टल क्लिनिकमा चिकित्सक बिदामा रहेको भनिए पनि क्लिनिकको सरसफाइ र निर्मलीकरणको अवस्था अत्यन्तै न्यून स्तरको पाइएको छ । टोलीले चिकित्सकको उपस्थिति बिना उपचार नगर्न कडा निर्देशन दिएको छ ।
अनुगमन टोली आउने सुइँको पाएपछि केही क्लिनिक सञ्चालकहरू क्लिनिक नै बन्द गरेर सम्पर्कविहीन भएका थिए। महाकाली डेन्टल हस्पिटल बिहानैदेखि बन्द गरिएको र सञ्चालकलाई सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको टोलीले जनाएको छ। त्यस्तै, गुलरियाको शाही डेन्टल क्लिनिक र झलारीको राजदेवी डेन्टल क्लिनिक पनि अनुगमनका क्रममा बन्द पाइएका थिए ।
केही क्लिनिकहरूले भने कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छ । महेन्द्रनगरका हिमाल डेन्टल क्लिनिक, बिमल डेन्टल क्लिनिक र हुनैनाथ डेन्टल क्लिनिकमा चिकित्सकहरूले नै उपचार गरिरहेको र दर्ता प्रक्रिया पनि पुरा भएको पाइएको छ। यद्यपि, राजदेवी डेन्टल क्लिनिक (महेन्द्रनगर) लाई सरसफाइ र सामग्रीहरूको व्यवस्थापनमा सुधार गर्न ध्यानाकर्षण गराइएको छ ।
अनुगमन टोलीमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा अजय कुमार शाह, विज्ञ डा. विकास खड्का र डा अमृत राज जैशी सहभागी थिए । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेका यस्ता अवैध क्लिनिकहरूलाई कानुनी दायरामा ल्याउन र प्रक्रिया पुरा गरेर मात्र सञ्चालन गर्न टोलीले निर्देशन दिएको छ ।


















