काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ११ प्रदेशसभा सदस्यहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ४ घण्टा छलफल गरेका छन् । प्रदेशमा संसदीय दलको नेता परिवर्तनको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले भने एकताबद्ध पार्टी र संसदीय दल बनाउन सुझाव दिएका छन् ।
छलफलमा सुरुमा प्रदेश संयोजक गणेशसिंह ठगुन्नाले विषयवस्तुबारे जानकारी गराएका थिए। त्यसपछि प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले थप प्रकाश पारेका थिए ।

पार्टीको तर्फबाट दुई जनाले धारणा व्यक्त गरेपछि ओलीले संसदीय दलका सदस्यहरूको कुरा सुनेका थिए । ११ जना सांसदहरूले विस्तृत रूपमा ओलीलाई प्रदेशको अवस्था, सरकारको समीक्षा र दलको कामकारबाहीबारे जानकारी गराएका थिए ।

बैठकमा केहीले मन्त्री र दलको नेता फेर्ने कुरा उठाएका थिए भने केहीले फेर्न हुँदैन भनेका थिए ।
अध्यक्ष ओलीले सांसदका कुरा सुनेपछि पछिल्लो राजनीतिक अवस्थाबारे चर्चा गर्दै एकताबद्ध हुनुपर्ने बताएका थिए । ‘अहिले देशी–विदेशी शक्तिहरू हामीविरुद्ध खनिएका छन् । यस्तो बेला विवाद गरेर हुँदैन, एकताबद्ध भएर अघि बढ्नुपर्छ’, ओलीको भनाइ उद्धृत गर्दै अर्का सांसदले भने, ‘प्रतिकूल स्वास्थ्य अवस्थामा हुँदा पनि हाम्रो कुरा सुन्नुभयो । एक भएर अघि बढ्न अपिल गर्नुभयो ।’
संसदीय दलका नेता राजेन्द्रसिंह रावलले चार घण्टा अध्यक्ष ओलीले सबैको गुनासा र सुझाव ग्रहण गरेको बताए । उनले सबै सांसदलाई अध्यक्षले एकताबद्ध भएर अघि बढ्न सुझाव दिएको पनि बताए ।
यस विषयमा ओलीले शुक्रबार फेरि चार नेतालाई ओलीले बोलाएका छन् । ओलीले थप संवादका लागि एमाले उपमहासचिव लेखराज भट्ट, संयोजक गणेशसिंह ठगुन्ना, अध्यक्ष कृष्णप्रसाद जैशी र दलका नेता राजेन्द्रसिंह रावललाई बोलाएका छन् ।



















