धनगढी – धनगढीमा “सिमापार पर्यटन, सम्भावना, चुनौती र आगामी दिशा” विषयमा मिडिया अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा उक्त कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले बताए । कार्यक्रममा उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालय सुदूरपश्चिम प्रदेश पर्यटन इकाइका अधिकृत दानबहादुर थापा, पर्यटन बोर्डका मिडिया कन्सलट्यान्ट दिलिप प्रकाश कार्की, नाटा सुदूरपश्चिमका अध्यक्ष पदमबिक्रम सिंह र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशबराज पाण्डेसँग प्यानल छलफल गरिएको थियो ।
प्यानलिस्टहरूले सुदूरपश्चिममा पर्यटनका प्रशस्त सम्भावना रहेको औंल्याउँदै ती अझै ओझेलमा पर्नुमा प्रभावकारी प्रचार–प्रसारको अभाव, कमजोर पूर्वाधार र नीतिगत स्पष्टता समेत नहुनु मुख्य कारण रहेको बताए। प्राकृतिक, सांस्कृतिक र जैविक विविधतालाई सशक्त “ब्रान्डिङ” गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन आवश्यक रहेको उनीहरूको सामूहिक भनाइ रहेको थियो ।

प्यानल छलफलका क्रममा नीतिगत तहमा प्रदेश र स्थानीय तहबीच समन्वय अझ सुदृढ गर्नुपर्ने, पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्न स्पष्ट नीति र प्रोत्साहन कार्यक्रम ल्याउनुपर्नेमा पनि जोड दिएको थियो । निजी क्षेत्र सक्रिय भए पनि सरकारले सहकार्य गर्न नसकेको होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेले बताए ।

कार्यक्रममा सीमापार पर्यटनलाई विशेष प्राथमिकतामा राखेर छलफल गरिएको थियो । भारतका उत्तरप्रदेश र उत्तराखण्डसँगको नजिकको सम्बन्धलाई अवसरका रूपमा उपयोग गर्दै धार्मिक, सांस्कृतिक पर्यटनमार्फत भारतीय पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको नाटा सुदूरपश्चिमका अध्यक्ष पदमबिक्रम सिंहले बताए ।
यसैगरी, प्रचार–प्रसारको कमीलाई सुदूरपश्चिमको पर्यटन विकासमा प्रमुख चुनौतीका रूपमा लिँदै डिजिटल मिडिया र आधुनिक प्रविधिको प्रयोगमार्फत यसको समाधान खोज्नुपर्नेमा पर्यटन बोर्डका मिडिया कन्सलट्यान्ट दिलिप प्रकाश कार्की जोड दिए । उनले हामीसँग के के सम्भावना छ भनेर, अरुले जानकारी गरिरहनु परेको चिन्ताको बिषय रहेको बताए । कस्तुरीले आफ्नो सुगन्ध खोजे झै सुदूरपश्चिम बासी पनि सम्भावना र अवसरलाई बर्षौं देखि खोजि मात्रै रहेको बताए ।
यस्तै कार्यक्रममा उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालय सुदूरपश्चिम प्रदेश पर्यटन इकाइका अधिकृत थापाले सरकारको तर्फबाट नीतिगत केही कमजोरी रहेको स्विकार गरे । हामीले विभिन्न समयमा पर्यटनका लागि काम त गरेको तर एकीन दस्तावेजीकरण गर्न नसकेको बताए । अगामी दिनमा पर्यटन व्यवसायीसँगको सहकार्यमा तीनै तहका सरकारले काम गर्नु पर्नेमा जोड दिए । पर्यटन विकासमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने र मिडियासँगै हरेक एक एक सञ्चारकर्मीले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले बताएका थिए ।
कार्यक्रममा सञ्चारकर्मी, पर्यटन व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरुले पनि सिमापार पर्यटन, सरकारी नीति, प्रचार–प्रसार र व्यवस्थापका बिषयलाई समेटेर प्रश्न गरेका थिए ।

















