अत्तरिया – कैलालीको बुढीतोलामा बुढीतोला पर्यटन महोत्सव आयोजना गरिने भएको छ । बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिले वैशाख १७ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो । बुधवार पत्रकार सम्मेलन गर्दै आयोजकले बुढीतोलाको पर्यटकीय सम्भावनालाई उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जनाएको छ ।

मूल आयोजक समितिका संयोजक हरि दत्त भट्टराईले बुढीतोलाको बुढीतोलाको ऐतिहासिक महत्त्व उजागर गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा लगानी भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।
‘आर्थिक नाफा रहित विशुद्ध रूपमा बुढीतोलालाई चिनाउनका लागि महोत्सवको आयोजना गरिएको छ’ उनले भने ‘बुढीतोलका पर्यटकीय क्षेत्र बन्दै छ भन्ने सन्देश दिन पर्यटन महोत्सव आयोजना गर्दै छ । यसको उद्देश्य बुढीतोलामा बढी भन्दा बढी पर्यटन भित्र्याउने रहेको छ ।’
उनले महोत्सवमा ६० वटा स्टल रहने र राष्ट्रिय तथा स्थानीय कलाकारको पनि प्रस्तुति रहने बताए । उनले महोत्सव गोदावरी नगरपालिका – ४ बुढीतोलमा रहेको बाख्रा विकास फर्म भन्दा माथिल्लो पट्टिको जमिनमा हुने बताए । उनले मेला व्यवस्थापनको जिम्मेवारी रकमणि टेन्ट हाउसको रहने बताए । उनले टेन्ट हाउसले व्यवस्थापन गरे बापत टिकटको पैसा उसैले लग्ने बताए । महोत्सवमा सामान्य टिकट दर १ सय र विद्यार्थीलाई ५० तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

समितिका सल्लाहकार सदस्य अशोक मल्लले बुढीतोला तथा आसपासका क्षेत्रमा पर्याप्त पर्यटन सम्भावना भएकाले महोत्सवले त्यसको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘बुढीतोलामा पर्यटनको अत्यधिक सम्भावना रहेको महसुस गरेर स्थानीयको पहलमा महोत्सवको सुरुवात गर्न खोजेका छौ’ उनले भने ‘अहिले बुढीतोलमा पर्यटन प्रवर्द्धनका लागि पुतली बगैचा, स्ट्याचु, रंगरोगनका कार्यक्रममा, भित्ते लेखन, सरसफाइ गरेर पर्यटनलाई आकर्षक गर्ने काम गर्दै आएका छौ । थप यसलाई चिनाउन महोत्सव आयोजना गरेका हौ ।’ उनले महोत्सवमा भारतबाट पनि अवलोकन गर्न आउने अपेक्षा लिइएको बताए ।
गोदावरी नगरपालिका–४ का वडा सदस्य शेरबहादुर घर्तीले बुढीतोला क्षेत्र पर्यटनसँगै धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण रहेको बताए । उनले पर्यटन महोत्सवले यसको पहिचान बढाउने बताए । उनका अनुसार सुदूरपश्चिमका धार्मिक शक्ति पीठहरूको कुनै न कुनै अंश बुढीतोलामा रहेको हुँदा धार्मिक महत्वबारे जानकारी फैलाउन महोत्सव उपयोगी हुने बताए ।
त्यस्तै, वडा अध्यक्ष हेमप्रकाश मल्लले मेला सफल पार्न सबै गोदावरीवासीलाई सहभागी हुन अपिल गरेका छन् । उनले भारतको उत्तर प्रदेशबाट समेत पर्यटक भित्र्याउन सके क्षेत्रीय पर्यटनमा थप टेवा पुग्ने बताए ।


















