अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ३ मुक्ति टोलमा लैगिंकमैत्री तथा गुणस्तरीय सार्वजनिक सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ तथा सामुदायिक संवाद कार्यक्रम आयोजना गरिएको छ । युरोपियन युनियन र संयुक्त राष्ट्रसंघको आर्थिक तथा प्राविधिक सहयोगमा प्रोपव्लिक, गोदावरी नगरपालिका, सुशासन प्रवर्द्धनका लागि युवा र निड्स नेपालले संयुक्त आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले सार्वजनिक सेवाका बारेमा प्रश्न उठाएका थिए भने वडाका जनप्रतिनिधि र कर्मचारीले जवाफ दिएका थिए । कार्यक्रममा अघिल्लो सार्वजनिक सुनुवाइमा भएका काम पुरा भए नभएको बारेमा छलफल गरिनुका साथै स्थानीयले आफ्ना समस्या र माग जनप्रतिनिधिलाई सुनाएका थिए ।
कार्यक्रममा राजमती चौधरीले अहिले पनि कम पढेलेखेकाहरूलाई सरकारी कार्यालयमा सेवा लिन अप्ठ्यारो हुने गरेको गुनासो पोखिन । उनले स्थानीय सरकारबाट दिइने सेवा सबैले बुझ्ने गरी सहज रूपमा उपलब्ध गराउनु पर्ने बताइन । उनले छाडा चौपायाको समस्या विकराल रहेको बताउँदै यसको समाधानका लागि घरमा पालेका गाई गोरुलाई स्टिकर लगाइदिनुपर्ने बताइन् ।

कार्यक्रममा साहुनी चौधरीले स्थानीय सरकारले छाडा चौपायाको व्यवस्थापन नगर्दा मुक्त कमैया शिविरमा तरकारी खेती जोगाउन निकै समस्या भएको बताइन । पार्वती चौधरीले जनप्रतिनिधि, कर्मचारी सँग सम्पर्क गर्न समस्या हुने गरेको बताउँदै फोन समेत नउठ्ने समस्या रहेको बताइन ।
कार्यक्रममा सञ्जालकी अध्यक्ष पार्वती बोगटीले अघिल्लो वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्षले गाउँमा बनाउने कल्भर्ट अझै पुरा नभएको भन्दै सचेत गराइन । कार्यक्रममा सान्ती चौधरी, मञ्जु गैरालले पनि जनप्रतिनिधिलाई शिविरका समस्या सुनाएका थिए ।

निड्सकी परियोजना संयोजक सरिता थापाले सहजीकरण गरेको कार्यक्रममा वडा सदस्य तारा कुमारी टमटा र सचिव लोक बहादुर सोतीले सहभागिता प्रश्नको जवाफ दिएका थिए ।

वडा सदस्य टमटाले सुझावका लागि धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने कामका लागि आफू प्रतिबद्ध रहेको बताइन् । उनले जनताको सल्लाह र सुझाव सुन्नका लागि नै आफूहरू निर्वाचित भएको बताइन् । कार्यक्रममा ६० भन्दा बढी मुक्ति टोलका स्थानीयको सहभागिता रहेको थियो ।
२०५७ साउन १६ गते बसेको उक्त मुक्ति टोलमा हाल १३२ परिवार मुक्त कमैया रहेको टोलका भलमन्सा दसी राम चौधरीले बताए । उनले सरकारले तत्कालीन समयमा ५–५ कट्ठाका दरले सरकारले जग्गा उपलब्ध गराएर बसाएको भए पनि हालसम्म रातो पुर्जा नपाएको बताए ।
‘हामी सँग कतै काम नलाग्ने सेतो पुर्जा त छ । यसले कुनै काम गर्न सकिँदैन’ उनले भने ‘अहिले सम्म पनि यहाँ अधिकांश मुक्त कमैया परियार ज्याला मजदुरीमा निर्भर रहेका छन् ।’ उनले मुक्ति टोलमा ३५ परिवार पहिले देखि नै पहाडी समुदायको पनि बसोबास रहेको बताए ।



















