खाेज्नुहाेस

आवश्यक परे कानुनअनुसार बल प्रयोग गर्न सशस्त्र प्रहरीका महानिरीक्षकको निर्देशन

Image

धनगढी – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आवश्यक परेको स्थानमा कानुनअनुसार बल प्रयोग गर्न मातहतका निकायलाई निर्देशन दिएका छन । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीको २५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महानिरीक्षक अर्यालले कानुनले नछेकेको अवस्थामा आवश्यक बल प्रयोग गर्न हिचकिचाउन नहुने स्पष्ट पारे ।

हालै सीमा सुरक्षा गुल्म खक्रौलामा केही व्यक्तिहरू कार्यालयभित्रै प्रवेश गरी प्रहरीमाथि आक्रमण गर्न खोज्दा पनि प्रहरी निष्क्रिय बनेको प्रसङ्ग उल्लेख गर्दै उनले त्यस्तो अवस्थामा तत्काल प्रतिवाद गर्नुपर्ने बताए । ‘अपराधी र तस्करलाई संरक्षण गर्ने होइन, कानुनअनुसार कारबाही गर्नुस्,’ उनले भने ‘युनिटभित्र छिरेर आक्रमण हुँदा बसिरहने होइन, तुरून्त प्रतिकार गर्नुपर्छ ।’

attariya hospital
navjiwan hospital

आईजीपी अर्यालले अपराधी र तस्करलाई माया गर्ने नभई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए । गुल्ममा आक्रमण हुँदा पनि फोटो खिचेर बस्ने सशस्त्र प्रहरीका कर्मचारीमाथि निलम्बनसम्मको कारबाही हुने आईजीपी अर्यालले बताए । आक्रमणमा संलग्नमाथि पनि अभद्र व्यवहारको मुद्दा मात्रै लगाइएको भन्दै आईजीपी अर्यालले नेपाल प्रहरीसँग पनि असन्तुष्टि पोखे ।

अहिलेसम्म एक जना मात्रै पक्राउ परेको छ, उनीमाथि पनि अभद्र व्यवहारको मात्रै मुद्दा चलेको छ भन्ने मैले सुनेँ,’ आईजीपी अर्यालले भने, ‘हातहतियार खरखजना, लुटपाट र सरकारी युनिटमा सुरक्षा फौजमाथि आक्रमण गर्न गएको भन्दै मुद्दा चलाउन मेरो आग्रह छ । यसलाई संगठनले गम्भीर रूपमा लिएको छ ।’

महानिरीक्षक अर्यालले सीमा सुरक्षालाई थप कडाइ गरिने बताउँदै जनशक्ति सीमाक्षेत्रमै केन्द्रित गर्न निर्देशन दिए । ‘सिमानामा स्थायी बसोबासको समस्या भए पनि २४ सै घन्टा पेट्रोलिङ हुने व्यवस्था मिलाउनुस्,’ उनले भने । सीमामा हाल जनशक्ति अभाव रहेको स्वीकार गर्दै चाँडै थप गर्ने योजना रहेको उनले बताए ।

सीमामा हुने घुसपैठ, राजस्व छली, चोरी–पैठारी, मानव बेचबिखन तथा लागूऔषध ओसारपसारलाई गम्भीरतापूर्वक लिएर कडाइका साथ चेकजाँच गर्न उनले निर्देशन दिए । कार्यक्रममा निमित्त बाहिनीपति प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले सरकारको निर्देशन कार्यान्वयन गर्न सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उक्त अवसरमा महानिरीक्षक अर्यालले विभिन्न क्षेत्रमा योगदान पु¥याउने नागरिक समाजका प्रतिनिधि तथा प्रहरी कर्मचारीहरूलाई सम्मान समेत गरेका थिए ।