खाेज्नुहाेस

अनिवार्य रुपमा मतदान गरौँ

Image

लोकतान्त्रिक शासन व्यवस्थाको सबैभन्दा बलियो आधार नागरिकको मताधिकार हो । जनताको सहभागिता बिना लोकतन्त्र केवल कागजमा सीमित हुन्छ । त्यसैले निर्वाचनमा सबैले सहभागी हुन आवश्यक छ । मतदानले देशको भविष्य निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्छ । मतदान केवल अधिकार मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारी पनि हो ।

नेपालले लामो राजनीतिक संघर्ष, बलिदान र आन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्राप्त गरेको हो । जुन व्यवस्था जनताको मतबाट सञ्चालित हुने गर्दछ । नागरिकले मतदान नगरे लोकतन्त्र कमजोर बन्छ, जनप्रतिनिधित्व अपूर्ण रहन्छ र निर्णय प्रक्रियामा जनताको आवाज हराउन सक्छ । त्यसैले निर्वाचनमा सहभागिता जनाउनु भनेको आफ्नै भविष्य निर्माण गर्नु हो ।

attariya hospital
navjiwan hospital

निर्वाचनको समयमा विभिन्न बहाना बनाएर मतदानबाट टाढा बस्ने प्रवृत्ति अझै देखिन्छ । ‘मेरो एक मतले के फरक पर्छ र ?’ भन्ने सोच लोकतन्त्रका लागि सबैभन्दा ठूलो चुनौती हो । वास्तवमा हरेक मतले सरकार निर्माण, नीति निर्माण तथा विकासको दिशा निर्धारण गर्छ । एक मतले जित–हारको परिणाम मात्र होइन, देशको नेतृत्वसमेत तय गर्न सक्छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ देशको राजनीतिक स्थायित्व, सुशासन र विकासको मार्ग तय गर्ने महत्वपूर्ण अवसर हो । सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्ने जिम्मेवारी मतदाताकै काँधमा रहेको छ । त्यसैले उम्मेदवारको योग्यता, विगतको कार्यसम्पादन, नीति तथा दृष्टिकोण मूल्यांकन गरेर विवेकपूर्ण मतदान गर्नु आवश्यक छ ।

मतदानमा युवाको सक्रिय सहभागिता विशेष रूपमा महत्वपूर्ण छ । देशको वर्तमान मात्र होइन, भविष्य पनि युवाकै हातमा निर्भर हुन्छ । महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा सबै वर्ग–समुदायको समान सहभागिताले मात्र समावेशी लोकतन्त्र सुदृढ हुन सक्छ । निर्वाचनलाई उत्सवका रूपमा मनाउने हाम्रो परम्परा रहे पनि यसलाई जिम्मेवारीपूर्ण अभ्यासका रूपमा लिनु अझ आवश्यक छ । डर, प्रलोभन, दबाब वा अफवाहबाट प्रभावित नभई स्वतन्त्र र सचेत निर्णय गर्नु प्रत्येक मतदाताको कर्तव्य हो ।

अन्ततः बलियो लोकतन्त्र निर्माणको आधार उच्च मतदाताको सहभागिता नै हो । राष्ट्रको भविष्य निर्धारण गर्ने यो ऐतिहासिक अवसरलाई गुमाउनुभन्दा आफ्नो मत प्रयोग गरी लोकतन्त्रलाई मजबुत बनाऔँ । त्यसैले आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा सबै नागरिक सचेत, जिम्मेवार र उत्साहित भई अनिवार्य रुपमा मतदान गरौँ ।