मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।

सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर) को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ ।

उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ ।
नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुन पाउने स्वतन्त्रता र सङ्गठन खोल्न पाउने स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको छ । नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश, २०७७ समेत जारी गरेको छ । यसै सन्दर्भमा सो दिवस मनाइएको हो ।
















