अत्तरिया – आज ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९२ बाट हरेक वर्ष ३ डिसेम्बरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउने घोषणा गरेको थियो । संयुक्त राष्ट्रसंघले यस वर्षको नारा ‘अपांगता समावेशी समाजको प्रवद्र्धन, सामाजिकउन्नतीको समवद्र्धन’ भन्ने तय गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्यांक प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् । उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।


अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले नेपालका विपद्सम्बन्धी कानुन र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ ।
अत्तरियामा विविध कार्यक्रम गरिदैं
३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस गोदावरीमा नगर स्तरीय अपाङ्ग कार्य सञ्जालले आज अत्तरियामा पनि विविध कार्यक्रम गर्दै छ । मंगलबार देखि नै दिवसको पुर्वसन्ध्यामा २ सय मिटर ह्विलचियर दौड, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला, र दीप प्रज्वलन कार्यक्रम गरेको सञ्जालले आज प्रभात फेरी, अत्तरिया बसपार्कमा सरसफाइ गरेर सुप समावेशी विद्यालयमा औपचारिक कार्यक्रम गर्दै छ ।
नगर स्तरीय अपाङ्ग कार्य सञ्जालका अध्यक्ष लक्ष्मण विकले अपाङ्गता भएका व्यक्तिले पनि समाजिक काममा योगदान दिन सक्छन भन्ने सन्देश दिन अत्तरिया बसपार्कमा सरसफाइ कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले औपचारिक कार्यक्रम अन्तरगत नृत्य, सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रम गरिने बताए ।
















